केन्द्रीय समितिको स्पष्ट सन्देशः प्रचण्डको विकल्प पाउनु त के खोज्न थालिएको पनि छैन – Janadesh Daily | ePaper

केन्द्रीय समितिको स्पष्ट सन्देशः प्रचण्डको विकल्प पाउनु त के खोज्न थालिएको पनि छैन


जनादेश वाच।
माओवादी केन्द्रीय कमिटी बैठकको पहिलो दुई दिन अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को आलोचनाको पारो केही बढ्ने अनुमान गरिएको थियो ।

तर चौथो दिनसम्म आइपुग्दा पनि बैठकको दृश्य नै फरक–फरक देखिन थालेको छ । प्रत्येक सदस्यलाई आफ्नो भनाइ राख्न ५ मिनेटको समय दिइएको छ । निर्धक्क भएर सदस्यहरूले नेतृत्वको विधि, विधान र कार्यशैलीमाथि टिप्पणी पनि गर्छन् । तर यही पाँच मिनेटमा प्रचण्डको आलोचनाबाट शुरू हुने बैठक टिप्पणी प्रशंसाबाट अन्त्य हुन्छ ।

सिनियर, जुनियरदेखि केन्द्रीय सदस्यसम्मको शैली यस्तै देखिने गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्य बताउँछन् । ‘माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा यसपटक पदाधिकारी र सबै केन्द्रीय सदस्यले समान रुपमा बोल्नका लागि ५ मिनेटको समय पाएका छन् । यो राम्रो र समान व्यवहार हो’ एक केन्द्रीय सदस्यले भने, ‘बैठकमा बोल्ने सदस्यहरूले अध्यक्ष प्रचण्डको आलोचनाबाट बोल्न शुरू गर्छन् तर ५ मिनेटको अन्त्यसम्म पुग्दा प्रशंसामा बदलिसकेको हुन्छ ।’

निकटकाले त समर्थन गर्ने भइहाले विरोधी गुटका नेताले पनि आलोचनाबाट शुरू गरेको आफ्नो भाषण प्रशंसामा बदलेर टुंग्याउछन् । ‘बैठकमा बोल्न शुरू गर्दा नेतृत्वको जरो किलो नै उखेल्लान् जस्तो गरी केही नेता प्रस्तुत हुन्छन्’ ती नेताले भने, ‘तर एउटै नेताको भाषण अन्तिममा पुगिसक्दा प्रशंसामा परिणत भइसक्छ ।’

पहिलो दुई दिन ओम शर्मा र लक्ष्मण पन्त अध्यक्ष प्रचण्डविरुद्ध आक्रामक देखाएका थिए । पार्टीमा चरम परिवारवाद हुर्किएको, छोरीलाई पिए र ज्वाईंलाई मन्त्री बनाएको भन्दै तीव्र आलोचना गरेका थिए । तर दोस्रो दिनदेखि भने नेतृत्वको आलोचनाजस्तो देखिने तर प्रशंसामा परिणत हुने गरेको सन्दर्भ अलग–अलग केन्द्रीय सदस्यले महसुस गरेका छन् ।

‘बुधवार शुरू भएदेखि शनिवारको चार दिनसम्म आइपुग्दा आकाश जमिनको फरक देखिएको छ’ धादिङ घर भएका एक केन्द्रीय सदस्य भन्छन्, ‘विरोध गर्नेले पनि घुमाएर अन्त्यमा नेतृत्वको प्रशंसा गरेर ब्यालेन्स गर्न खोजिएको देखिन्छ ।’
भ्रष्टाचार, अनियमितता र तस्करीविरुद्ध प्रभावकारी काम गरेकोप्रति पनि अधिकांश केन्द्रीय सदस्यले प्रचण्ड सरकारको प्रशंसा नै गरेका छन् ।

अघिल्लोपटकको महाधिवेशन कामचलाउमात्रै भएको, नेता कार्यकर्तालाई जिम्मेवारी नदिएको, पार्टी संरचनालाई कामकाजी नबनाएको, प्रदेशमा गुटबन्दी हुर्काएको जस्तो विषयमा नेतृत्वमा आलोचनामा भइरहेको छ । धेरै आलोचना नहोस् भनेर प्रचण्डको सचिवालयबाटै प्रतिरक्षाको लागि पनि नेताहरू परिचालन गरिएको एक नेता बताउँछन् । ‘आलोचना पनि विस्तारै प्रशंसामा परिणत हुन थालेपछि माथिबाटै प्रतिरक्षाको लागि पहल भएको हो कि भन्ने संकेत पनि मिलेको छ’ एक केन्द्रीय सदस्य भन्छन् ।

शनिवार माओवादी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्ड आफैंले पार्टीभित्र गुटबन्दी रहेको भन्दै खेल्न खोजेको आरोप लगाए । तर घुमाएर आफू प्रचण्डकै वरिपरी भएको प्रष्टै बताए ।

‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ?’ शर्माले भने, ‘तलतलसम्म कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’

बैठकमा रामप्रसाद सापकोटाले ‘दीपशिखा’ले पनि केन्द्रीय कमिटीलाई स्थायी कमिटीले भूमिकाविहीन बनाएको टिप्पणी गरे । तर लगत्तै सरकार र नेताविरुद्ध भइरहेका आरोपको प्रतिवादमा उत्रिन पनि अपिल गरे ।

‘एकातिर केन्द्रीय कमिटी छ, तर यसका सदस्यलाई भूमिकाविहीन बनाइएको छ । स्थायी कमिटी नै सबैथोक भएको छ । यही नै बलशाली र बाहुबली देखिएको छ’ सापकोटाले भने, ‘स्थायी कमिटीले सबैथोकमा निर्णय गर्दा केन्द्रीय सदस्य इच्छाविना नै ताली बजाउन बाध्य छन् ।’

तर उनले पार्टी निर्माणको आधारमा रुपमा अहिलेको सरकारको कामलाई जोड्न सकिने भन्दै नेताविरुद्धमा आएका विषयलाई प्रतिवाद गर्न आग्रह गरे । ‘सरकारले भ्रष्टाचारविरुद्ध गरेका काम हाम्रो लागि यतिखेर उर्जाको रुपमा छन् । यही उर्जालाई संगठनमा रुपान्तरण गर्न सकिए हामी थप बलियो बन्छौं’ सापकोटाले भने, ‘नेताको गल्तीविरुद्ध निर्मम बनौं तर सरकारले राम्रो काम गर्दा प्रतिरक्षा गरौं ।’

अध्यक्षको लाइनसँगै अन्य नेता नदौडिए महाधिवेशनमा आफूहरूले हस्तक्षेप गर्ने पनि दीपशिखाले चेतावनी दिए ।

समग्रमा केन्द्रीय समितिको सन्देश हो- माओवादी नेतृत्वमा प्रचण्डको निरन्तरताको अझै कुनै विकल्प छैन, पाउनुको त परकै कुरा खोज्न पनि थालिएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्