जनादेश वाच।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विभिन्न प्रकरणमा देखाएको तदारुकताप्रति नागरिक समाज र मिडियामा प्रशंसा पाएका छन्। तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नक्कली शरणार्थी प्रकरण, सुन प्रकरण लगायतमा प्रश्न उठाइरहेको छ।
सरकारले लामो समयदेखि थन्क्याएर राखेका पुराना भ्रष्टाचारका फाइललाई खोतल्न थालेपछि धेरैलाई चयनको निन्द्रा लागेको छैन । कतिपयले सरकारको कामलाई प्रशंसा गरेका छन् भने कतिले यसलाई स्टण्टबाजी भनेका छन् । मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेको बेला विभिन्न कालखण्डका अनियमितता र घुसखोरीका फाइलहरुलाई खोलेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने नागरिक समाजको माग रहेको छ ।
राज्यसंयन्त्रको दुरुपयोग गरी भएका भ्रष्टाचारले विश्वमाझ शिर झुकाउनुपर्ने अवस्था आएको समयमा अझैपनि यस्ता कार्यमा संलग्नहरुलाई जोगाउने कुचेष्ठा गरे त्यसलाई जनताले समेत दण्डित गर्ने बेला आएको छ । हालसम्म १८ पटक पेशीमा चढेको ललिता निवास जग्गा अनियमितता प्रकरणको छानबिन प्रहरीले गरिरहेको छ । यो मन्त्रीस्तरीय निर्णय भएका कारण भुरा माछा र मझौला माछालाई मात्रै छोपेर नहुने बरु ठूला माछालाई समात्नुपर्ने पाडा गोविन्दमानसिंह कार्कीको भनाइ छ ।
नेपाली कांग्रेसले पनि भ्रष्टाचारविरुद्ध डटेर सामना गर्नुपर्ने नीति अख्तियार गरेको छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँडलाई पार्टीको जिम्मेवारीबाट समेत हटाउन सकेको छैन । विचौलियाले नाम पोलेका केही कांग्रेसभित्रकै व्यक्तिहरु खुलेआम हिडिरहेका छन् । कांग्रेस नेता जीवन परियारले प्रचण्ड सरकारले गरेको प्रयास सकारात्मक रहेको भन्दै सबैले ढाडस दिनुपर्ने बताउनुभयो ।
माओवादीका नेता राजन दाहालले भ्रष्टाचारका फाइल खोल्दा हरेक क्षेत्रमा एमाले पर्ने आरोप लगाउनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म हरेक क्षेत्रको भ्रष्टाचारमा एमाले रहेकोले निष्टावान नेताहरु समाजवादी मोर्चामा फर्किने उहाँको दाबी छ ।
सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै एमालेले लगातार सदन अवरोध गरिरहेको छ। ‘गृहमन्त्रीसँग बयान कसले लिन्छ? के सीआइबीले लिन्छ? राजस्व अनुसन्धानले लिन्छ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ, प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ,’ मंगलबार प्रतिनिधि सभामा एमाले सांसद योगेश भट्टराईले भने।
नक्कली शरणार्थी प्रकरणमा कांग्रेका नेता तथा पूर्व मन्त्री बालकृष्ण खाण र एमालेका नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझी पूर्पक्षका लागि जेलमा छन्। एमाले नेता रामबहादुर थापा बादल नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएकै छैनन्।
प्रचण्डले भ्रष्टाचारका अरू फाइल पनि खुल्दै जाने बताएका छन् । भ्रष्टाचारविरोधी लडाइँ सुरु गरेपछि सत्तारूढ गठबन्धनमा फाटो ल्याउने प्रयास भएको र समाजवादी मोर्चाभित्र पनि भ्रम र आशंका पैदा गराउने खेल भइरहेको उनले बताएका छन् । यद्यपि, त्यस्ता षड्यन्त्रलाई परास्त गर्दै अगाडि बढ्नेमा दृढ रहेको उनको भनाइ छ ।
प्रचण्डले ग्राउन्डमा समर्थन प्राप्त नभई एक्लै प्रधानमन्त्री वा सरकारले जित्न नसक्ने बताए । ‘भ्रष्टाचार र तस्करीविरुद्ध जेहाद छेडिएकै छ । यो कदम यहीँ रोकिनेवाला छैन,’ उनले भने, ‘नेपाल राष्ट्रको एकताका निम्ति, समाजवादको आधार निर्माणका निम्ति, सामाजिक न्यायका निम्ति, समृद्धि र विकासका निम्ति यो लडाइँ नेपाली जनताले जित्नैपर्छ । यो लडाइँ नजितेसम्म हामीले परिकल्पना गरेको, हामीले सपना देखेको समाजवादको आधार तयार हुनै सक्दैन ।’