प्रधानमन्त्री-सम्पादक संवादः सीधा कुरा गर्ने प्रचण्डले प्रेस जगतलाई दिएका पाँच सन्देश – Janadesh Daily | ePaper

प्रधानमन्त्री-सम्पादक संवादः सीधा कुरा गर्ने प्रचण्डले प्रेस जगतलाई दिएका पाँच सन्देश


जनादेश वाच।
बालुवाटारमा सोमबार भेट्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुहारमा राजनीतिक ‘प्रेसर’ प्रस्टै देखिन्थ्यो । सर्वोच्च अदालतको २२ साउनको आदेश र संसद अवरोधबारे छलफल गर्न भुईं तलामा सत्तारुढ गठबन्धनका नेताहरू राखेर उनी सम्पादकहरू भेट्न उक्लिएका थिए । तर, उनको मन तलै थियो । खुलस्तसँग भने पनि, ‘म यहाँ भए पनि मेरो मन तल बैठकमै छ । त्यसैले भोलि फेरि भेटौँ ।’

प्रचण्डमा मंगलबार त्यो ‘प्रेसर’ त देखिएन, तर सर्वोच्चको पछिल्लो आदेशप्रति भने उनी र सत्ता गठबन्धन निकै गम्भीर बनेको पाइयो । उनले सर्वोच्चको आदेशलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक गरेका संसद विघटन र एमालेले निरन्तर गरिरहेको संसद अवरोधकै शृंखलाका रूपमा आशंका गरेका छन् ।

 ‘ललितानिवासमा हामी अनुसन्धानमा अगाडि गई नै राखेका थियौँ । झण्डैझण्डै मन्त्रीहरूसम्म त्यो पुगेकै थियो । हुन सक्छ, त्यो पूर्वप्रधानमन्त्रीसम्म पनि कुनै न कुनै रूपमा त्यो पुग्थ्यो,’ प्रधानमन्त्री प्रचण्डले सम्पादकहरूसँगको अन्तर्क्रियामा भने, ‘तर, बीचैमा अदालतले त्यहाँ पनि जाऊ है भन्न किन पर्‍यो होला ? के कारणले भन्यो भन्ने प्रश्न उठेकै छ । मैले भन्दा यो जस्तो खुला आँखाले देखिन्छ, त्यति मात्र होइन कि भन्ने मलाई लागेको छ ।’

अदालतको आदेश गम्भीर रूपले सोच्नुपर्ने विषय भएको र मिडियाले पनि गहिरो गरी हेर्नुपर्ने उनको भनाइ थियो । त्यसो भनेर आफूले अदालतलाई मानहानि गर्न नखोजेको र अदालतको निर्णयलाई अपमान नगरेको प्रस्टीकरण पनि प्रचण्डले सँगै दिए । तर, सर्वोच्चको आदेशलाई उनले संसद विघटनको शृंखलासँग जोड्न खोजेका छन् ।

सम्पादकहरुबाट सुझाव र प्रश्न संकलन गरेर बोल्न थालेका प्रधानमन्त्रीले कतिपय विषयमा खुलेर कुरा गर्न चाहे । उनले प्रधानमन्त्रीकै सचिवालयको भिडिओ क्यामेरा र केही मोबाइलको रेकर्ड समेत बन्द गर्न लगाएर ‘अफ द रेकर्ड’ नभनी भावनात्मक अभिव्यक्ति समेत दिए । सम्पादकहरुसँगको संवादमा प्रधानमन्त्रीले केही गम्भीर संकेतहरु गरे । ललिता निवास प्रकरणमा अदालतको आदेशमा ठूलो राजनीतिक संकट खडा गर्न खोजिएको देखि सीआईबीले गरिरहेका अनुसन्धानमा बाह्य प्रभावका आशंका उनले गरे ।

प्रधानमन्त्रीले सत्ता गठबन्धनमै ठूलो संकट सिर्जना गरेर सरकार ढाल्न विभिन्न प्रकरणमा चलखेल भइरहेको बताउँदै कतिपय निर्णय सरकारकै अंगबाट भए पनि आफू लाचार वा अनविज्ञ हुने गरेको समेत उनले बताए । उनले कतिपय निर्णयहरु कहाँबाट भइरहेका छन् भनेर आफैं अन्यौलमा रहेको सुनाए ।

प्रधानमन्त्रीले समासामयिक विषयमा भनेका कुराहरु सम्पादक बालुवाटारभित्र रहदै टुक्रा टुक्रा समाचारका रुपमा अनलाइन मिडियामा आइसकेका थिए । धेरै विषयमा प्रधानमन्त्रीले प्रष्ट पारेका छन् भने कतिपय संकेतहरु गरेका छन् ।

प्रधानमन्त्रीले प्रेस जगतलाई दिएका पाँच सन्देशः

नम्बर १- प्रधानमन्त्रीले शुरुमै देशको आर्थिक अवस्था र अर्थतन्त्र गम्भीर मोडमा रहेको स्वीकार गरे । भर्खरै मौद्रिक नीतिको बारेमा समेत छलफल गरेको सुनाउँदै उनले रेमिट्यान्स, डलर सञ्चितीलगायतको बढोत्तरीले आर्थिक सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र संकटग्रस्त रहेको बताए । विशेषगरी व्यापार, व्यवसायी र उद्योगपतिहरुमा चरम निराशा तथा असुरक्षा रहेको स्वीकार पनि गरे । अझ यसबीचमा ठूला ब्यापारीमाथि भएको धरपकड तथा भागभागको अवस्थाबारे सम्पादकहरुले गरेको आलोचनामा प्रधानमन्त्रीले पनि कहीँ न कहीँ त्रुटी भएको स्वीकारे ।

नम्बर २- ललिता निवास प्रकरणमा अदालतको आदेशप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्टमात्र देखिएनन्,उनले गम्भीर आशंका समेत व्यक्त गरे । सरकारले अनुसन्धान गरेर मन्त्री तहमा पुगेका बेला निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरुलाई गम्भीर आशंका भएको बताए । उनले यसलाई सामान्य रुपमा लिन नहुने भन्दै संसद विघटन गर्नेहरु र अदालतको आदेशकोबीच मिलन देखिएको आरोप लगाए । उनले अब मन्त्री र प्रधानमन्त्रीहरुले काम गर्न नसकने अवस्था आएको र यसअघि सचिवहरुले फाइलमा सही गर्नै नमानेको अनुभव सुनाए ।

बुँदा नम्बर ३- अहिले भ्रष्टाचार र संगठित मुद्दाहरुको अनुसन्धानमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई सक्रिय बनाएको छ । तर प्रधानमन्त्री सीआईबीकै अनुसन्धानमा विश्वस्त देखिएनन् । उनले सम्पादकहरुसँग खुल्दा खुल्दै भनिहाले- कतै सीआईबीको अनुसन्धानमा बाहिरबाट प्ले भइरहेको त छैन ? मलाई आशंका भइरहेको छ । ललिता निवास प्रकरणमा आफूले नचाहेको भइरहेको र सुन तस्करीमा पनि बाहिरतिरबाट सीआईबी प्रभावित भइरहेको हो कि भन्ने प्रधानमन्त्रीको आशंका बुझियो ।

बुँदा नम्बर ४- नेपाल भूराजनीतिक भूमरीमा फँस्दै गएको र कतिपय अवस्थामा धान्नै नसक्नेगरी शक्ति राष्ट्रहरुको दबाबमा परेको अनुभव प्रधानमन्त्रीले सुनाएका छन् । नेपालमा अब भारतमात्र होइन अमेरिका र चीनको पनि प्रत्यक्ष सक्रियता बढेको प्रधानमन्त्रीले स्वीकार गरेका छन् । यी शक्ति राष्ट्रका स्वार्थहरुको मैदान नेपाल बन्न सक्नेमा उनी गम्भीर देखिए । यसमा रुस युक्रेन युद्ध र पछिल्लो शक्ति सन्तुलनको पनि उनले व्याख्या गरे । यसै क्रममा उनले आगामी महिना अमेरिकाबाट सिधै चीनको भ्रमण गर्न लागेको र केही महत्वपूर्ण सफलता यस भ्रमणबाट पनि हात लाग्ने उनको दाबी छ ।

बुँदा नम्बर ५- प्रधानमन्त्रीको संकेत प्रष्ट रुपमा के देखिन्छ भने नेकपा एमाले संसद अवरोधलाई विघटनको बिन्दूसम्म लैजान चाहन्छ । अदालतको पछिल्लो आदेश र संसद विघटनको सन्दर्भ जोडेका प्रधानमन्त्रीले सरकार र संसदलाई असफल बनाउने खेल भइरहेको भन्दै त्यो खेल सफल हुन भने नदिने बताए । एमालेसँग छलफल भएर ३ वटा संसदीय समितिको सभापति दिएर सदन खुलाउने सहमति भएकोमा संसद भवन नपुग्दै केपी ओलीले सहमति नमानेको दाबी गरे ।
ओलीले संसद विघटन गरेपछि आफूहरूले सडक र अदालतबाट नयाँ परिस्थिति बनाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले प्रतिपक्षी दल एमालेको भूमिका र पछिल्लो आदेशले आशंका उब्जाएको बताए । संसदीय इतिहासमै पहिलोपटक प्रतिपक्षलाई तीनवटा समितिको सभापति दिने गरी लचिलो हुँदासमेत संसद नखुलेको उनको गुनासो थियो ।

‘संसद खुलेर महत्त्वपूर्ण विधेयकहरू अघि बढाउने आवश्यकतालाई ध्यान दिएर धेरै लचिलो भएर निर्णय गरियो,’ प्रचण्डले भने । उनका अनुसार, बालुवाटारमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दललाई तीनवटा संसदीय समितिको सभापति दिने सहमति भएको थियो । ओलीकै अगाडिबाट प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गरेर सहमति भएको जानकारी पनि गराएका थिए । तर, त्यसपछि पनि संसद नखुल्नुमा प्रचण्डले गम्भीर ‘चलखेल’ बुझेका छन् ।

‘बालुवाटारबाट बानेश्वर नपुग्दै सहमति किन भंग भयो ?,’ प्रधानमन्त्रीको भनाइ छ, ‘त्यो सहमति भंग र ललिता निवास सन्दर्भसँग साइनो छ कि छैन होला ? संकेत त पक्कै बुझ्नुभो होला । मैले भन्दा राम्रो हुँदैन । तर, मलाई गम्भीर आशंका छ, यो पहिलाकै निरन्तरतामा जाँदै छ । संविधान अवरुद्ध गर्ने, सरकार अगाडि जान नदिने र अन्तै लैजाने कसैको मनसाय देखिन्छ ।’

प्रधानमन्त्रीले अन्तिममा र त्यसअघि पटक पटक दोहोर्याएको एउटा वाक्य स्मरणीय छ, त्यो के भने– मैलेबाहेक अरुले देशको अहिलेको अवस्था पार लाउन सक्दैन । कम्तिमा यसपटक मबाहेक अरु विकल्प नखोजियोस् र मलाई सबैले सहयोग गरुन् । यो पटक आफूबाहेक अरु प्रधानमन्त्री बन्न नमिल्ने अवस्था भएकैले समीकरण फेरि फेरि आफू बनेको भन्दै मिडियाबाट सहयोग होस् भन्ने आशा व्यक्त गरे ।

उठ्दा उठ्दै पनि प्रधानमन्त्रीले भने- मबाहेक अरुबाट पार लाग्दैन है, तपाईंहरुले गम्भीर भएर सोच्नुस् र अलि मज्जाले नै सहयोग गर्नुस् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्