तीज खर्च कटाएर विपन्न जनहित कोष स्थापना – Janadesh Daily | ePaper

तीज खर्च कटाएर विपन्न जनहित कोष स्थापना


झापा,

मेचीनगर नगरपालिका वडा नम्बर ९ का सामाजिक क्षेत्रमा क्रियाशील महिलाले हरितालिकाका अवसरमा आज विपन्न जनहित कोष स्थापना गरेका छन् । उनीहरुले नजिकिँदै गरेको तीजको खर्च कटाएर मेचीनगरभित्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछि परेका विपन्न समुदायलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सो कोष स्थापना गरेका हुन् ।

शुरुमा वडाका २०२ महिला मिलेर रु दुई लाख २९ हजारको कोष स्थापना गरिएको छ । कोषमा उनीहरुले प्रतिव्यक्ति एक हजारका दरले रु दुई लाख २ हजार र सोही वडामा रहेका सन्तोष गौतमले सहयोगस्वरुप प्रदान गरेको रु २९ हजार गरी रु दुई लाख २९ हजारको कोष स्थापना गरेको आज पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ ।

तत्काल मेचीनगर –९ बाट शुरु गरिएको कार्यलाई नगरस्तरीय बनाउने र कोष रकम रु एक करोड पु¥याइने योजना रहेको कोष सञ्चालक समितिका अध्यक्ष रेणुका डाँगीले बताउनुभयो । कोष वृद्धिका लागि प्रत्येक घरधुरीबाट मासिक रु पाँच सङ्कलन गरिने र देशविदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीसहित उद्योगी व्यवसायीलाई अनुरोध गरिने कोषका सचिव जानुका ओलीले बताउनुभयो ।

नगरभित्र स्थायी बसोबास गरी ज्यालामजदूरी गर्दै आएका गरीब, विपन्न, असहाय र सीमान्तकृत समुदाय आकस्मिक बिरामी पर्दा कोषबाट खर्च गरिने बताइएको छ ।

मस्तिष्क, मुटु, मिर्गौला, अलजाइमर, स्पाइनलकर्ड इन्जुरी, क्यान्सर जस्ता रोगमा नेपाल सरकारले दिने सहयोगले मात्र उपचार सम्भव नहुने अवस्थामा कोही नगरवासी पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको कोषको कार्यविधि बनाएर तत्काल लागू गरिने संस्थाका कोषाध्यक्ष लीना भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न समुदायलाई कोषको रकमबाट बीमा गरिदिइने छ । कोष सञ्चालनका लागि डाँगीका अध्यक्षतामा २५ सदस्यीय समितिसमेत गठन गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्