पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर ः सैनिक अस्पताल – Janadesh Daily | ePaper

पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर ः सैनिक अस्पताल


नयाँ दिल्ली:

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ ।

भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अहिले पनि उपचाररत हुनुहुन्छ ।

तर पछिल्ला केही दिनहरुमा उहाँको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उक्त सैनिक जनाएको छ । उक्त अस्पतालले दिएको जानकारीअनुसार बुधबार उहाँलाई फोक्सोमा सङ्क्रमण देखिएको छ ।

फोक्सोमा देखिएको सङ्क्रमणका कारण उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सो अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ ।

उहाँलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । अवस्था झन् कमजोर हुदै गएपछि उहाँलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ । उहाँलाई गएको अगष्ट १० मा सो अस्पतालमा भर्ना गरिएको थियो । त्यस लगत्तै उहाँको मष्तिष्कको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको केही दिनपछि उहाँलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ । केही दिनमात्र अघि पनि सो अस्पतालले उहाँको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो ।

तर आज बिहान मात्र पनि पूर्वराष्ट्रपति मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताउनुभएको थियो । उहाँले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिनुभएको थियो । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्