शहीदहरू हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्: प्रधानमन्त्री – Janadesh Daily | ePaper

शहीदहरू हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्: प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ ।\

शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभयो । उहाँले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गर्नुभयो ।

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउँदै आइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्