दाङमा पाँचवटा ‘बिटीएस टावर’ जडान – Janadesh Daily | ePaper

दाङमा पाँचवटा ‘बिटीएस टावर’ जडान


तुलसीपुर । दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् ।

यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । “विद्युत्का कारणले रोकिएका छन्”, उहाँले भन्नुभयो, “विद्युत्को मिटर जडान हुनेबित्तिकै अन्य ठाउँमा पनि टावर सञ्चालनमा आउनेछन् ।”

उहाँका अनुसार प्रदेश राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमा टावर सञ्चालनमा ल्याउने तयारी रहेको उहाँको भनाइ छ । त्यस्तै गढवा गाउँपालिका–२, गढवा–६ खबरे, दङ्गीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौतासमेत भइसकेको उहाँले बताउनुभयो । अबको केही समयमा टावर निर्माणको काम अघि बढ्ने प्रमुख शर्माको भनाइ छ ।

दाङमा हालसम्म एक सय तीनवटा बिटीएस टावर सञ्चालनमा छन् । टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका छन् । तीमध्ये फोरजीका आठ सय र एक हजार आठ सय मेघाहर्जमा सञ्चालनमा रहेको प्रमुख शर्माले बताउनुभयो ।

साथै जिल्लामा कुन ठाउँमा कस्तो गुणस्तरको सेवा सञ्चालन भइरहेको छ भन्ने कुराको मापन पनि भइरहेको छ । दाङमा इन्टरनेटका लागि टेलिकमको एफटिसीएच सेवा ७१ र फाइबर टु द होम सेवा (एफटिटीएच) पाँच हजार पाँच सय रहेका छन् । साथै तत्कालै ६० एफटिसीएच थप गर्ने तयारी रहेको समेत प्रमुख शर्माले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्