लुम्बिनीमा महराको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत – Janadesh Daily | ePaper

लुम्बिनीमा महराको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत


लुम्बिनी। लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार प्रदेशसभामा राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आजबाट प्रक्रिया सुरु गरेको हो ।

मुख्यमन्त्री चौधरीले पदबाट दिनुभएको राजिनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ । नयाँ सरकार गठनका लागि सत्तारूढ दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन बहुमत प्रदेशसभा सदस्यले प्रदेश प्रमुख शेरचनसमक्ष दाबी प्रस्तुत गरेका छन् ।

सत्तारुढ दलहरूले महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन् । सरकार गठनका लागि आज दाबी पेस गरे पनि प्रदेश प्रमुख शेरचनले महरालाई आइतबार सम्ममा मुख्यमन्त्री नियुक्ति गर्ने तयारीअनुसार प्रक्रिया थालेको बताउनुभयो ।

सरकार गठनका लागि आवश्यक बहुमत सङ्ख्या नेकपा (एमाले)का २९, माओवादी केन्द्रका १०, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो ।

माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले बिहीबार सात बुँदे सहमति गर्नुभएको थियो । प्रदेश प्रमुख शेरचनसमक्ष दाबी पेस गर्न महरा, गिरीसहितका नेता पुग्नुभएको थियो ।

प्रदेश प्रमुख शेरचनले छिट्टै प्रक्रिया पूरा गरेर चैत २५ गते मुख्यमन्त्रीसहित मन्त्रिमण्डल बनाउने गरी अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्