दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी – Janadesh Daily | ePaper

दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी


सियोल । दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ । डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको हो । यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति हुनुभएका युन सुक योललाई पनि समस्यामा पारेको छ ।

निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू समावेस गर्दा विपक्षी डिपीले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ । यसैगरि पिपिपी लगायतका गठबन्धन पार्टीले एक सय आठ सिट प्राप्त गरेको छ ।

योन्हाप समाचार एजेन्सीका अनुसार भ्रष्टाचार आरोपमा मुछिएका पूर्व न्यायमन्त्री चो कुक नेतृत्वको रिबिल्डिङ कोरिया पार्टीले १२ समानुपातिक सिट र पिपिपीका पूर्व नेता ली जुन–सिओकको नेतृत्वमा रहेको न्यू रिफर्म पार्टीले दुई स्थान जित्न सफल भएको छ ।

चार वर्षअघि भएको चुनावमा सहयोगी दल समेतको सहयोगमा डीपीले एकसय ८० सिट जितेको थियो भने पिपिपीले एकसय तीन सिट जितेको थियो ।

चुनावका लागि योग्य चार करोड ८२ लाख कुल मतदातामध्ये ६७ प्रतिशतले मतदान गरेको स्रोतले जनाएको छ । दक्षिण कोरियाली निर्वाचन आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो ।

चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले जनताको इच्छालाई गम्भीरतापूर्वक स्वीकार गर्दै पदबाट राजीनामा दिनु भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्