खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ – Janadesh Daily | ePaper

खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’


कर्णाली । कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गर्दै ‘ओलम्पिक डे’को अवसर पारेर आगामी असार ७ गते हाफ म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिँदै कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रमोदजङ्ग हमालले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, खेल क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी थालिएको बताउनुभयो ।

“कर्णाली खेल क्षेत्रको उर्वर भूमि हो । खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुपर्ने उद्देश्य राखेका छौँ”, हमालले भन्नुभयो, “खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न र यहाँको आर्थिक समृद्धिमा यसले ठूलो सहयोग पुग्ने अपेक्षाका साथ म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।” प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै यहाँका सबै विद्यालयहरूको प्रतिनिधित्व हुनेगरी दुई हजार विद्यार्थी सहभागी गराइने उहाँले जानकारी दिनुभयोे ।

मिड वेस्टर्न फिटनेस सेन्टरका अध्यक्ष सञ्जीव हमालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, रु ५० हजार, रु ३० हजार र रु २५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो । प्रतियोगताको पाँचौँदेखि दशौँ स्थानसम्म आउने खेलाडीलाई जनही रु २५ हजार नै प्रदान गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष हमालका अनुसार प्रतियोगितामा सहभागी हुन आउने सुर्खेत बाहिरका सबै खेलाडीलाई आयोजकले नै खाना तथा आवासको व्यवस्था गर्नेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा प्रदेश सरकारको रु तीन लाख र बाँकी आयोजकले व्यवस्थापन गर्नेगरी रु १५ लाख बजेट खर्च हुने जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्