किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ – Janadesh Daily | ePaper

किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’


पर्वत । किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न फलेवास नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ सुरु गरेको छ ।

व्यावसायिक रुपमा फलफूल खेती गर्न इच्छुक किसानलाई आवश्यकताअनुसार बिरुवा उपलब्ध गराउन नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । नगरका ११ वटै वडाका किसानले यस कार्यक्रम अन्तर्गत हावापानी र भौगोलिक अवस्था अनुसारका फलफूलका विरुवा माग गर्न सक्ने छन् ।

फलेवासमा आँप, लिची, सुन्तला, कागती, जुनार, एभोकाडो, अम्बा, अङ्गुर, ड्रागन फ्रुट, केरालगायत फलफूलको उत्पादन हुँदै आएको छ । राम्रो उत्पादन हुने फलफूललाई व्यावसायिक रुपमा खेती गरेर किसान स्वरोजगार बनुन र नगरपालिकालाई नै फलफूलमा आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख गङ्गाधार तिवारीले जानकारी दिनुभयो ।

जुन वडामा जुन फलफूल बढी उत्पादन हुन्छ त्यही विस्तार गर्न सकेमा किसान लाभान्वित हुने उहाँको भनाइ छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवाहरु उपलब्ध गराउने छ ।

व्यावसायिक रुपमा लागेका किसान, कृषि समूह, सहकारी वा फर्मले न्यूनतम १० वटाभन्दा बढी बिरुवा माग गर्नुपर्ने नगरपालिकाले जनाएको छ । १० वटाभन्दा कम सङ्ख्यामा लगाउने किसानले व्यावसायिक रुपमा प्रगति हासिल नगर्ने भएकाले धेरैभन्दा धेरै सङ्ख्यामा बिरुवा लगाउन भन्ने नगरको उद्देश्य रहेको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।

युवा शक्तिको बढ्दो पलायन, बसाइँसराइ, बाँदर आतङ्क, जनशक्तिको अभावलगायत कारण बढ्दै गएको बाँझो जमिनको सदुपयोग गर्नका लागि पनि फलफूल खेती विस्तारमा नगरले जोड दिएको हो । किसानलाई बिरुवासँगै अन्य प्राविधिक सहयोग पनि नगरले गर्ने भएको छ ।

सुन्तला खेती हुँदै आएको छ । यी वडावाट वार्षिक रु चार करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । यी दुई वडामा सुन्तला खेतीको राम्रो सम्भावना रहेको छ । खानीगाउँ, मुडिकुवा, देवीस्थानमा आँप, लिची, कटहर, एभोकाडो, कागती, केरालगायत फलफूल प्रशस्त मात्रामा उत्पादन गर्न सकिने फलेवास नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो ।

किसानको माग सङ्ख्या र प्राथमिकताका आधारमा बिरुवाहरु उपलब्ध गराइने उहाँले बताउनुभयो । यसका लागि किसान वा कृषि संंस्थाले नागरिकता, फर्म दर्ताको प्रमाणपत्र, जग्गाको लालपुर्जा, सम्बन्धित वडा कार्यालयको सिफारिस र न्यूनतम १० वटा बिरुवाभन्दा बढी माग गरेको निवेदन बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्