प्रधानमन्त्री दाहालसँग भारतीय व्यावसायीको भेट, नेपालमा लगानी गर्न आग्रह – Janadesh Daily | ePaper

प्रधानमन्त्री दाहालसँग भारतीय व्यावसायीको भेट, नेपालमा लगानी गर्न आग्रह


काठमाडौँ । छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

होटल ताजमा भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूबीच छलफल भएको हो

सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए।

“लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।”

उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको प्रधानमन्त्रीको भनाइ छ ।

भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालिन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्रीले ठूला जलविद्युत आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

सो अवसरमा फिक्कीका अध्यक्ष डा अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जामा आफू र आफ्ना सदस्यहरू इच्छुक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले लगानीका लागि लिएको तदारुकतालाई आफूहरूले नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै उनले नेपालमा लगानीका लागि उत्साहित रहेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्