दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु – Janadesh Daily | ePaper

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु


दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत्यु भएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् ।

सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो ।

घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौं अन्य कामदार हताहत भएको अनुमान गरिएको छ । यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीनजना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका बताएका थिए ।

टीभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै स–साना विष्फोट भइरहेको देखिएको छ । करिब २ हजार ३ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको तीनतले कङ्क्रिट भवनमा कसरी आगलागी भएको थियो भन्नेबारे समाचार तयार पार्दासम्म विश्वस्त र आधिकारिक जानकारी प्राप्त हुनसकेको छैन ।

लिथियम ब्याट्री जलाउँदा परम्परागत आगो निभाउने विधिबाट सम्हाल्न गाह्रो हुने भएकाले अग्निनियन्त्रकलाई आगो निभाउन कठिनाइ भइरहेको बताइएको छ ।

प्लान्टको दोस्रो तल्लाबाट भागेका एक प्रत्यक्षदर्शीले ह्वासेओङ फायर स्टेसनलाई बताएअनुसार आगलागीको समयमा एउटा ब्याट्री विष्फोट भएको थियो । स्टेसनका अनुसार पहिलो विष्फोटपछि आगो तीव्र गतिमा फैलियो र ब्याट्रीहरू एकपछि अर्को गर्दै लगातार विस्फोट भएका थिए ।

विष्फोटसँगै एक्कासि फैलिएको आगोका कारण उद्धारकर्ताहरूलाई भित्र जान र खोजी गर्न गाह्रो भएको र त्यहाँ कार्यरत कामदार आगालागीमा फसेको बताइएको छ । प्लान्टभित्र कम्तीमा ३५ हजार ब्याट्री रहेको अनुमान गरिएको छ ।

सोमबार करिब ६७ जना कामदार ड्युटीमा रहेको र अझै २१ जना अझै सम्पर्कविहीन रहेको र थप हताहत हुने आशङ्का गरिएको बताइएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मन्त्री लीलाई उपलब्ध सबै जनशक्ति र उपकरणपरिचालन गरी हराइरहेका व्यक्तिको खोजी र उद्धारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका छन् ।

सरकारले केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयको आपतकालीन बैठक बोलाई विपद्बाट हुने क्षति न्यूनीकरणका उपायबारे छलफल गरेको छ । बैठकमा गृह तथा सुरक्षामन्त्री ली साङ–मिनले सबै सम्बन्धित सरकारी निकाय र स्थानीय सरकारलाई आगो निभाउन र पीडितको उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन र कर्मचारी परिचालन गर्न आग्रह गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्