निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रिपरिषद्को निणर्य – Janadesh Daily | ePaper

निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रिपरिषद्को निणर्य


काठमाडौँ । सरकारले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माले भनिन्, ‘मुख्यसचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।’

शर्माले अर्यालको अवधिभर उक्त विशेष पद रहने समेत बताएकी छन् । अर्यालविरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

यस्तै, बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ । अर्को मुख्य सचिव नियुक्त नहुँदासम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

यस्तै, आजको बैठकले आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी १६ अर्ब ९९ करोड, २२ लाख रुपैयाँ वित्तीय समानिकरण अनुदान रकम हस्तान्तरण गर्ने निर्णय पनि गरेको शर्माले जानकारी दिइन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्