रुपान्तरण प्रक्रियाको नेतृत्व पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो: उपाध्यक्ष श्रेष्ठ – Janadesh Daily | ePaper

रुपान्तरण प्रक्रियाको नेतृत्व पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो: उपाध्यक्ष श्रेष्ठ


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए बहन गर्न तयार रहेको बताएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरुले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने बताएका हुन्।

उनले अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिनेकुरा अहिलेको आवश्यकता भएको जिकिर गरे। उनले माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भएपनि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्वपूर्ण रहने बताए।उनले सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशपूर्ण ढंगले प्रश्तुत हुन नहुने पनि बताए।

उनले पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको पनि बताउनु बताए। उनले अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने बताउनु बताए। उनले वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने आशंका व्यक्त गरे।

उनले भने,‘हामी अहिले सरकारबाट बाहिर धकेलिएका छौँ। हाम्रो लागि सरकारमा रहनु वा सरकारबाट बाहिर आउनु त्यति ठूलो कुरा होइन। यद्यपि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भुमिका महत्वपूर्ण रहन्छ। अहिले मुख्य भुमिकामा थियो। संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार गर्दा। अहिले प्रादेशिक र संघीय सरकारमा नरहने स्थितिमा हाम्रो संसदको भुमिका मुख्य भएर जान्छ। बिस्तारै जनतासँग जोडेर जनपरिचालन, जनसंघर्षको भुमिकामा पनि जानुपर्ने स्थिति हुनसक्छ। त्यसको आवश्यकताअनुसार हामी अघि बढ्छौँ।

‘सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशको ढंगले प्रश्तुत गर्दैनौँ। हाम्रो पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न भइरहेको छ। जुन सरकार अहिले बनेको छ, त्यो सरकारले के राष्ट्रियताको रक्षा गर्दछ, जो हामीले दृढतापूर्वक अघि बढाएका थियौँ। यो सरकारले के अहिलेको उपलब्धिको रक्षा गर्छ ? अहिलेको उपलब्धि रक्षा गर्नुको सट्टा प्रतिगमनतिर लैजाने त होइन भन्ने आशंक आएका छन्। त्यसप्रति हामी सचेत छौँ। यो सरकारले सुशासन स्थापित गर्छ भन्दा भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर त जाँदैन भन्ने प्रश्न आएको छ।’

श्रेष्ठले थपे,‘शान्ति प्रक्रियाको काम पूरा भएको छैन, आग्रह गर्छौं, यो सबैको कार्यभार हो। यो टुंग्याउन लागौँ। अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरु अब चलाउनुस् भनेर कुनैदिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ । अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो।’ श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरे।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्