कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन फिर्ता नलिने – Janadesh Daily | ePaper

कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन फिर्ता नलिने


विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताए ।

‘उहाँले बाम एलायन्सलाई जोगाउँछु भन्नुभएको थियो,’ आङ्बोले भने, ‘पार्टी अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रस्ट निर्देशन दिनुभएको थियो । तर, अहिले सहमतिको सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हौँ ।’

यद्यपि मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि अब राष्ट्रिय सहमतिको सरकार नबन्ने भयो भनेपछि आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेको आङ्बोले बताए । यद्यपि लामो समयसम्म समर्थन नदिने प्रस्ट पार्दै उनले उपधारा ५ अनुसार बनेको सरकारको समर्थन लिँदा सबै सांसदहरू भेला हुनुपर्ने भएको कारण पछि धकेलिएको आङ्बोले बताए ।

‘अब केही समयपछि हाम्रा मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिनुहुन्छ,’ उनले भने, ‘तत्कालका लागि समर्थन भने कायमै रहने छ ।’ अब माओवादीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।

केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा वन्दना झागर राज्यमन्त्री छन् ।

संविधानको धारा १६८(५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्