काठमाडौं । बङ्गलादेशमा पुनः सरकार विरोधी प्रदर्शन चर्किएको छ । आइतबार कम्तीमा १४ जनाको मृत्यु भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।
त्यहाँको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि अनिश्चितकालाका लागि कर्फ्यू घोषणा गरेको हो । सबै प्रमुख सहरका साथै, नगरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाममा कर्फ्यू लगाइएको छ।
यसअघिको लगाइएको कर्फ्यू आइतबार बिहान ६ बजेदेखि खुकुलो बनाइए लगत्तै प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।
प्रहरीले प्रदर्शन नियन्त्रणका लागि गोली चलाएको छ । जसका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
सरकार विरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीले कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।
केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा आएका हुन् ।
यसअघिको प्रदर्शनका क्रममा २०० भन्दा धेरैको ज्यान गएको थियो । हालसम्म करिब १० हजार विपक्षी दलका समर्थक र विद्यार्थीलाई नियन्त्रणका लिइएको छ।
प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले आइतबार नै देशव्यापी र्यालीको आयोजना गरेको थियो ।