श्रीलंकाको सत्तारुढ दलले आगामी २१ सेप्टेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ ।
श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।
एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भने, ‘सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।’
पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको कार्यकालमा नमालले खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो ।
उनका काका गोटाबय राजपाक्षे सन् २०१९ नोभेम्बरमा राष्ट्रपति पदमा विजयी भएका थिए । सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उनलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो ।
राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो । एसएलपीपीका अधिकांश विधायकहरूले ‘पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस्’ भन्ने चाहेका थिए ।