योगेश भट्टराई हतियार ओसारपसारमा संलग्न भएको भन्दै छानबिनको माग – Janadesh Daily | ePaper

योगेश भट्टराई हतियार ओसारपसारमा संलग्न भएको भन्दै छानबिनको माग


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद योगेश भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिनको माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ ले जनयुद्धलाई हिंसाको संज्ञा दिएको बताए ।

‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो‚’ उनले भने ।

यस्तै अर्का सांसद छिरिङलामू लामा तामाङले त सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि भन्दै छानबिन गर्न माग गरिन् ।

‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक(पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो । यस्तो रवैयाले देशलाई अर्को द्वन्द्धमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚’ उनले भनिन्‚ ‘उहाँको विषयमा कन्ट्रोभर्सी छ । उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीयज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस् । यसमा छानबिन होस् ।’

एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी युद्धलाई हिंसाको संज्ञा दिएका थिए । उनले पटक पटक हिंसा शब्द प्रयोग गरेपछि संसद् बैठक सञ्चालनमा समस्या भएको थियो । एमाले र माओवादी सांसदहरू वाकयुद्धमा उत्रिएका थिए । साथै‚ हिंसा शब्द गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग माओवादीले गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्