महिना दिनदेखि सडक अवरुद्ध    – Janadesh Daily | ePaper

महिना दिनदेखि सडक अवरुद्ध   


गलकोट ।    

अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे रायडाँडा जाने सडक महिना दिनदेखि अवरुद्ध भएको छ । अविरल वर्षात्का कारण गत साउन १ गते बागलुङ नगरपालिका–९ तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण महिना दिनदेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको हो ।

सडक भासिएर गएको पहिराले गर्दा तत्कालै सडक खुलाउन नसकिए पनि प्रयास भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । महिना दिन बित्दासमेत सडकको वैकल्पिक व्यवस्था हुन नसक्नु दुखद् भएको तित्याङका राजु केसीले गुनासो गर्नुभयो । बुकेनीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्ने भन्दै तित्याङ वडा कार्यालयले पूर्वाधार निर्माणविना सडक सञ्चालनमा नआउने बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । सो सडकको बैरेनी गैरा र बागलुङ नगरपालिका–३ काठेखोलामा समेत ठूलो पहिरो गएको छ ।

भिरालो जमिन भएका कारण वैकल्पिक सडक निर्माण गर्न समेत समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ । साउनको पहिलो हप्ता बागलुङ जिल्लाका अधिकांश सडक वर्षात्का कारण अवरुद्ध भए पनि पानी कम पर्न थालेपछि सडक सञ्चालन भएकाे तर तित्याङ, भकुण्डे र रायडाँडा जोड्ने सडक खुलाउन सकिएको छैन । वडा कार्यालयले सडकलाई पुरानै अवस्थामा ल्याउन रु एक करोड रकम खर्च लाग्ने भन्दै गण्डकी प्रदेश सरकारलाई समेत आग्रह गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाको डोजरले पहिरो पन्छाउन र नयाँ ट्रयाक खोल्न खोजे पनि हालसम्म सम्भव नदेखिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पहिराका कारण तित्याङ, भकण्डे तथा रायडाँडामा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल ल्याउनसमेत समस्या भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्