एजेन्सी ।
इंग्लिस क्लब टोटेनहम हस्टपरका प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस क्लब रियल म्याड्रिड तथा वेल्सका फरवार्ड ग्यारेथ बेललाई अनुबन्धको लागि प्रयास गर्ने भएका छन् ।
सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मुल्य ८६ मिलियन पाउन्डमा बेल टोटेनहमबाटै म्याड्रिड पुगेका थिए । बेलले २००७ देखि २०१३ सम्म टोटेनहम बसाईका क्रममा उच्च प्रदर्शन गरेका थिए । टोटेनहमका लागि लेफ्ट ब्याक हुँदै लेफ्ट विंग पोजिसनमा पुगेका बेलले प्रिमियर लिगमा तहल्का नै मच्चाएका थिए । उनकै प्रदर्शनमा टोटेनहमले च्याम्पियन्स लिगमा समेत उत्कृष्ट नतिजा निकालेको थियो ।
रियलमा आएर पनि उच्च प्रदर्शन गरेका बेल पछिल्लो समय जिनेदिन जिदानको नजरमा पर्न सकेका छैनन् । म्याड्रिडले बेलसहित अन्य खेलाडीलाई बेच्ने सुचीमा राखेको छ । क्रिस्टियानो रोनाल्डो र करीम बेन्जेमासँग बलियो आक्रमण जोडी बनाएका बेल पछिल्लो समय भने क्लबसँग राम्रो सम्बन्ध नहुँदा खेल्न पाइरहेका छैनन् ।
रियलमा अवसर नपाइरहेका ३१ वर्षे बेललाई टोटेनहम फर्काउन पोर्चुगिज प्रशिक्षकले चासो देखाएका हुन् । इल स्पानोलका अनुसार बेललाई म्याड्रिडमै बस्ने कि टोटेनहम फर्कने दुई विकल्प छ । म्याड्रिडमै रहे खेल्ने अवसरै नपाउने बुझेका बेललाई आफ्नो उत्कृष्ट लयमा फर्कन टोटेनहम राम्रो अवसर हुने बुझेका छन् ।
मोउरिन्होले म्यानचेस्टर युनाइटेडमा रहँदा २०१७ मा नै बेललाई युनाइटेड ल्याउने प्रयास गरेपनि विफल भएको थियो । त्यतिबेला प्रि–सिजनको मैत्रीपुर्ण खेलमा यि दुई टोलीले अमेरिकामा खेलेका थिए । मोउरिन्होले निकै अघिदेखि बेलको प्रशंसा गर्दै आएका छन् ।
बेलले बर्नाबेउमा आफ्नो अवस्था बुझेका कारण छिट्टै उचित कदम चाल्नेछन् । उनले रियलमै रहेर खेल्ने कमै मौका पाए वेल्सको टोलीमा पर्ने सम्भावना त छ । तर, बेलले युरो कपको लागि तयार रहन पनि मैदानमा समय बिताउनुपर्ने हुन्छ । त्यसैले उनले रियल छाड्ने विकल्प रोज्न सक्नेछन् ।
म्याड्रिडमा जिदानले सीमित मात्रामा अवसर पाएपनि उनका एजेन्ट जोनाथन बार्नेटले बेल आफ्नो करार अवधिसम्म रियलमै खुसी रहेको र रियलमै रहने बताउँदै आएका छन् । म्याड्रिडमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी छ । उनले यस सिजन रियलबाट २० मात्रै खेलमा अवसर पाउदा ३ गोल र दुई असिस्ट दिएका छन् ।