एजेन्सी ।
स्पेनिस क्लब रियल म्याड्रिड यूईएफए युथ लिग च्याम्पियन बनेको छ । मंगलबार राति नियोनमा भएको फाइनलमा बलियो पोर्चुगिज क्लब बेन्फिकामाथि ३–२ को कठिन जित निकाल्दै म्याड्रिड पहिलोपटक युथ लिग च्याम्पियन बनेको हो ।
क्लबका पूर्व फरवार्ड राउल गोन्जालेजको प्रशिक्षणमा रहेको टोलीका लागि रोड्रिग्वेज र गुइटिरेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेन्फिकाको लागि गोन्कालो रामोसले दुई गोल गरेपनि हार टार्न सकेन । २६औं मिनेटमा रोड्रिग्वेजको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा हेनरिक जोकुले आत्मघाती गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
४९औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई खेलमा फर्काए । तर, त्यसो एक मिनेटपछि नै गुइटिरेजले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५७औं मिनेटमा गोन्कालोले अर्काे गोल थप्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।
६८औं मिनेटमा बेन्फिकाले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि टियागो डान्टसको पेनाल्टीलाई रियल म्याड्रिडका गोलरक्षक लुइस लोपेजले बचाउदै बराबरी टारे । त्यसपछि थप गोल निस्कन नसक्दा रियल ३–२ ले विजयी हुन सफल भयो ।
बेन्फिका तीन संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो । बेन्फिका पहिलो संस्करणमा बार्सिलोना र चौथो संस्करणमा रेडबुल साल्जवर्गसँग पराजित भएको थियो । युइएफएले प्रि–क्वाटरफाइनलको दुई खेलदेखि सबै खेल स्वीट्जरल्यान्डको नियोनमा १६ देखि २५ अगस्टसम्म क्लोज डोरमा आयोजना गरेको थियो ।
युइएफएले युवा खेलाडी उत्पादनको परियोजनालाई ध्यानमा राख्दै २०१३ बाट युथ लिगको अवधारणा अघि सारेको थियो । युथ लिग बार्सिलोना र चेल्सीले समान दुईपटक जितेका छन् । साल्जबर्ग र पोर्टाेले समान एकपटक जितेका छन् ।