एजेन्सी ।
इटालियन सिरी ‘ए’ क्लब एएस रोमाले स्पेनिस विंगर पेड्रोसँग तीन वर्षको सम्झौता गरेको छ । सिजन सकिए लगत्तै लण्डन क्लब चेल्सी छाडेका पेड्रोलाई रोमाले तीन वर्षका लागि अनुबन्धन गरेको हो ।
उनी फ्रि–ट्रान्सफरमार्फत रोमामा आबद्ध भएका हुन् । रोमाले मंगलबार समर ट्रान्सफरको पहिलो खेलाडीको रुपमा पेड्रोलाई सार्वजनिक गरेको हो । पेड्रोले यो महिनाको सुरुवातमै आफुले चेल्सी छाड्ने घोषणा गरेका थिए ।
‘रोमा आउन पाउँदा निकै खुशी छु । नयाँ चुनौतीलाई लिएर निकै उत्सुक छु । तर, आउने सिजनको क्लबको लक्ष्य पुरा गर्नेछु ।’ पेड्रोले भने, ‘म समर्थकलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई स्वागत गरे । आशा गर्छु, म नि उनीहरुलाई खुसी पार्नेछु ।’
रोमाका कार्यकारी अधिकृत गुइडो फिएन्गाले स्टाडियो ओलम्पिकोको शानदार संग्रहमा पेड्रो जोडिएको हेर्न चाहेको बताए । ‘हाम्रो लागि यो सौभाग्यको कुरा हो, रोमा परिवारका लागि पेड्रो जस्ता क्षमताको खेलाडी स्वागत गर्नका लागि समक्ष भएका छौ,’ उनले भने ।
पेड्रोले आफ्नो फुटबल करियरमा २५ मुख्य उपाधि जितेका छन् । जसमा विश्वकप, युरो कप र च्याम्पियन्स लिग समेत समावेश छन् । स्टामफोर्ड ब्रिजमा ५ बर्ष बिताएका उनले मुख्य तीन उपाधि जितेका छन् । उनको चेल्सीका लागि पछिल्लो समयको खेल सुखद रहेन ।
एफए कपको फाइनलमा चेल्सी पराजित भएको खेलमा पेड्रोले चोट बोक्दै मैदान बाहिरिएका थिए । लगत्तै उनको शल्यक्रिया गरिएको थियो । उनले चोटका कारण सिरि एका सुरुवाती केही खेल गुमाउनेछन् ।