एजेन्सी ।
बार्सिलोना छाड्ने मनसाय बनाएका लियोनल मेस्सीका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) सम्भावित गन्तव्य मध्ये एक क्लबका रुपमा हेरिएको थियो । तर, सुपरस्टार मेस्सी फ्रान्सको राजधानी जाने सम्भावना भने निकै कम छ ।
कारण लिग वन टोलीको मेस्सीलाई लिने त्यस्तो कुनै योजना देखिएको छैन । मेस्सीलाई लिन इच्छुक देखिएका भनिएका इन्टर मिलान र म्यानचेस्टर सिटीको भन्दा पिएसजीको कथा फरक छ । ३३ वर्षे मेस्सीका लागि पिएसजीले लगानी गर्न खासै इच्छा देखाएको छैन ।
नेयमार र केलियन एमबाप्पे जस्ता खेलाडी क्लबमा रहेका कारणले अर्का महंगा खेलाडी मेस्सीलाई भित्राउनु क्लबका लागि थप आर्थिक भार हुनेछ । हाल मेस्सीको तलब नै नेयमार र एमबाप्पेको समग्र तलबभन्दा बढी हुन आउँछ । माउरो इकार्डीले पनि टोलीमा स्थायी सम्झौता गरेका कारण मेस्सीको आगमन सम्भव हुने देखिदैन ।
टोलीको आवश्यकता अनुसार पिएसजीले एक राइट ब्याक, एक सेन्टर ब्याक र एक मिडफिल्डर भित्राउन सम्भावना रहेको छ । मेस्सीका लागि ठूलो खर्च गर्नु भन्दा गतवर्ष आन्दर हरेरा जस्ता खेलाडीका लागि लगायनी गर्नु उपयुक्त देखिएको छ । यो सिजन इकार्डीलाई भित्राउन पिएसजीले ५० मिलियन युरो खर्च गरिसकेको छ ।
इन्डिन्सन काभानी र थिएगो सिल्भालाई बेच्दा पिएसजीले तलबतर्फ केहि राहत मिलेको छ जसले नयाँ खेलाडीका लागि खर्च गर्ने ठाउँ देखिन्छ । तर त्यसको अर्थ टोलीले अर्का सुपरस्टारका लागि लगानी गर्ने अवस्था भने छैन । कोरोना महमारीका कारण क्लबहरुको आर्थिक अवस्थामा पनि असर परेको छ ।
यदि मेस्सीलाई भित्राउन सकेको खण्डमा भने पिएसजी प्रशिक्षक थोमस टुचेल भने खुसी हुन सक्छन् । एमबाप्पे, मेस्सी, नेयमार, एन्जेल डि मारिया इकार्डी जस्ता खेलाडी एकै पटक खेल्दा टोलीले अझै सफलताको आशा राख्न सक्छ । यो सिजन ४ उपाधि जितेको पिएसजी पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको थियो ।
नेयमार फेरि एकपटक अर्जेन्टिनी स्टारसँग खेल्न इच्छुक त होलान् तर अहिले नै चलेको हल्ला जस्तो मेस्सी पिएसजी आउने सम्भावना नरहेको उनले बुझेका छन् ।