एजेन्सी ।
भेट्रान स्वीडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलानसँग थप एकवर्षको सम्झौता नवीकरण गरेका छन् ।
मिलान र इब्राहिमोभिचबीच एक वर्षका लागि ७ मिलियन युरो (फिक्स) पारिश्रमिक कुनैपनि बोनस नपाउने गरी सम्झौता भएको हो । एजेन्ट मिनो राइओलाले ३८ वर्षे इब्राहिमोभिचले मिलानसँग सम्झौता गरेको समाचार निराधार रहेको बताएको २४ घन्टा नबित्दै सम्झौताको समाचार बाहिर आएको हो ।
अघिल्लो सिजन सकिएसँगै छुट्टी र नयाँ सम्झौताको पर्खाइमा रहेका कारण उनी टोलीसँग थिएनन् ।
३८ वर्षीय फरवार्ड गत जनवरीमा सिजनको अन्त्यसम्मको लागि मिलान आएका उनले क्लबमा ठुलो प्रभाव जमाउन सफल भएका थिए ।
सोही कारण पनि क्लबका प्राविधिक निर्देशक पाओलो माल्दिनीले यसअघि नै इब्राको नवीकरणलाई प्राथमिकतामा राखेका थिए । ज्लाटन जनवरीमा मिलान आएयता १८ खेल खेल्दै १० गोल गर्न सफल भएका थिए । उनकै उच्च प्रदर्शनमा मिलान १३ खेलसम्म अपराजित रहन सफल भएको थियो ।
इटालियन सिरी ‘ए’ सेप्टेम्वर १९ देखि सुरु हुँदैछ । क्लबले प्रशिक्षक स्टेफानो पिओलीको प्रशिक्षणमा प्रि–सिजन सुरु गरिसकेको छ । सम्झौता भएसँगै इब्राहिमोभिच प्रशिक्षणमा फर्कनेछन् ।