एजेन्सी ।
मिडफिल्डर लुका मोड्रिचको रियल म्याड्रिड बसाई ८ वर्ष पुगेको छ । इग्लिस क्लब टोटेनहमबाट मोड्रिच सन् २०१२ अगष्टको २७ मा रियलमा आबद्ध भएका थिए । त्यसयता उनी रियलको सफलताका हिस्सेदार रहँदै आएका छन् ।
मोड्रीचलाई भित्राउनका लागि रियलले नर्थ लन्डन टोलीलाई त्यति बेला ४० मिलियन युरो तिरेको थियो । रियलमा मोड्रिच पहिलो सिजन सन्तोषजनक हुन सकेन । उनलाई समर्थकले मतदानमार्फत इतिहासकै सर्वाधिक खराब ट्रान्सफर रहेको समेत बताएका थिए । तर, त्यसपछि भने उनले आफुलाई टोलीको महत्त्वपूर्णमध्ये एक खेलाडीका रुपमा स्थापित गरेका छन् ।
क्रोएसियाली मिडफिल्डरले ८ वर्षको बसाईमा उनले ४ वटा च्याम्पियन्स लिग, ४ वटा क्लब विश्वकप, ३ वटा सुपर कप, २ वटा ला लिगा, कोपा डेल रे र दी सुपरकोपा डी स्पाना समान १ पटक जितेका छन् । मोड्रिचले रियलबाट ३ सय ४३ खेल खेलिसकेका छन् ।
मोड्रीचले बार्सिलोना विरुद्ध सुपरकोपा डी स्पाना फाइनल खेल्दै रियलबाट डेब्यू गरेका थिए । त्यो उपाधि रियलले जितेको थियो । क्रोएसियाली कप्तान मोड्रिचले पहिलो सिजनमा रियल जारागोगाविरुद्ध ला लिगामा पहिलो गोल गरेका थिए । उनी अहिले क्लबको सर्वाधिक गोलकर्ताको २२ औं स्थानमा छन् ।
व्यक्तिगत रुपमा मोड्रिचका लागि २०१८ वर्ष उत्कृष्ट रह्यो । उनको कप्तानीमा क्रोएसियाले विश्व कप फाइनल खेलेको थियो । यद्दपी टोली फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । मोड्रिच विश्व कपका उत्कृष्ट खेलाडी चुनिएका थिए । सोही वर्ष उनले बालोन डी ओर र द बेष्ट अवार्ड जितेका थिए ।