एजेन्सी ।
बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको क्लब छाड्ने विषयमा नयाँ मोड आएको छ । ला लिगाले यदि मेस्सीले बार्सिलोना छाड्ने हो भने त्यसका लागि क्लबलाई सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लबको रकम तिर्नुपर्ने विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
मेस्सीले यसअघि क्लबलाई पत्र लेख्दै सम्झौता रद्द गर्न आग्रह गरेका थिए । उनले यसो हुँदा विना कुनै ट्रान्सफर रकम अन्य क्लबमा सरुवा हुन पाउँथे । क्लबसँग सन् २०२१ सम्म सम्झौता भएपनि मेस्सीले गत साता क्लब छाड्ने अनुमति दिनका लागि पत्र लेखेका थिए । तर क्लब भने उनीसँग यो विषयमा कुनै छलफल गर्ने पक्षमा छैन ।
मेस्सीले जुन १० सम्म क्लब छाड्न पाउने प्रावधान भएपनि सिजन लम्बिँदा त्यो सम्भव हुन सकेन । मेस्सीले कोरोनाका कारण सिजन लम्बिएकै आडमा सम्झौता रद्द गर्ने माग राखेका थिए ।
अहिले ला लिगाको विज्ञप्तीले बार्सिलोनालाई भने राहत मिलेको छ । ला लिगाले रिलिज क्लबको रकम तिरेको खण्डमा मात्र क्लब छाड्न सक्ने प्रष्ट पारेको छ । मेस्सीको रिलिज क्लब ७ सय मिलियन युरो रहेको छ ।
ला लिगाको विज्ञप्तीलाई बार्सिलोनालाई राहत मिल्दा मेस्सीका लागि भने केहि कठिन देखिएको छ । ला लिगाको विज्ञप्तीका बारेमा मेस्सीको प्रतिक्रिया के आउँछ त्यो भने हेर्न बाँकी छ ।
यद्यपि अब बार्सिलोनाले अन्य क्लबसँग सहमति गर्ने हो भने रिलिज क्लवको पूरा रकम तिर्नुपर्नेछ भन्ने अनिवार्य भने छैन । दुई क्लबबीच सहमति र मेस्सीले नयाँ क्लबसँग सम्झौता गर्न राजी भएको अवस्थामा ट्रान्सफर सम्भव हुनेछ ।
मेस्सी आइतबार टोलीका अन्य खेलाडीको कोभिड १९ को पिसिआर टेष्टमा सामेल भएनन् । सोमबारदेखि सुरु हुने प्रि सिजन तयारीमा मेस्सी समावेश हुने सम्भावना न्यून छ ।