जनादेश, काठमाडौं ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको टीका टिप्पणीप्रति प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारले गम्भीर आपत्ति जनाएका छन् ।
भट्टराईले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर थापाले बाबुरामलाई गाली शिरोमणिको सज्ञा दिएका हुन् ।
तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण नगर्ने भट्टराईले जिम्मेवारीबाट विदाइ हुँदा गोहीका आँसु झारेजस्तो र रूवाबासीको नक्कली नाटक प्रदर्शन गरेको थापाको टिप्पणी छ ।
थापाले केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा बाबुराम ‘फण्डिङ पीएचडी गर्दै रहेको र अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै गरेको आरोप पनि लगाएका छन् ।
भट्टराईले अर्थमन्त्री पदबाट बिदा लिएका डा. युवराज खतिवडाले अर्थतन्त्रलाई गुणात्मक फड्को दिने अवसर हुँदाहुँदै पनि काम नगरेको आरोप लगाएका थिए ।
भट्टराईले आफ्नो ट्विटरमार्फत दुईतिहाइ बहुमतको सरकार हुँदा पनि डा. खतिवडाले आफ्नो कार्यकाल कनिका छरेरै बिताएको टिप्पणी गरेपछि सूर्य थापाले आक्रोशित जवाफ फर्काएका हुन् । भट्टराईले सरकारको आलोचना गर्दै आएका छन् भने सूर्य थापाले आलोचकहरुलाई कठोर भाषामा जवाफ फर्काउने गरेका छन् ।
र यो पनि-
बाबुराम भट्टराईको प्रस्तावः जनताको पीडा नबुझ्नेहरुको तलबभत्ता रोकौं
युवराज खतिवडालाई छेउँमै राखेर बालुवाटारबाट ओलीको राजनीतिक सन्देश