एजेन्सी ।
भारत र चीनबीच तीन महिनादेखि विवाद चलिरहेको लद्दाखमा गोलीबारी भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । पूर्वी लद्दाखमा भारतीय सेनाले गोली चलाएको र स्थिति नियन्त्रणमा लिन चीनले जवाफी कारवाही गर्नुपरेको चीनको भनाई छ ।
पाङ्गोङ तालको दक्षिणी किनारमा भारतीय सेनाले वास्तविक नियन्त्रण रेखाको उल्लङ्घन गर्दै गोली चलाएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भारतले उक्त समाचारप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।
भारतले पुनः एक पटक गैरकानूनी तरिका अपनाउन खोजेको र सीमा क्षेत्रको उल्लङ्घन गरेको चीनको आरोप छ ।
चिनियाँ गस्ती टोलीमाथि भारतीय सेनाले चेतावनी फायर गरेपछि चीनले जवाफी फायरिङ गरेको ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ ।
उक्त क्षेत्रमा १५ जुनको राति भएको भिडन्तमा २० भारतीय सेना मारिएका थिए ।