संसारका १ करोड ९८ लाख भन्दा बढी मानिसले जिते कोरोना
एजेन्सी ।
विश्व महामारी बनेको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । वर्ल्डोमिटरको तथ्याङ्क अनुसार संसारमा अहिलेसम्म ९ लाख ८ सय भन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा संसारका विभिन्न देशमा ४ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ ।
त्यस्तै कोरोना संक्रमित हुनेको संख्या २ करोड ७७ लाखभन्दा बढी पुगेको छ । गत चौबीस घण्टामा संसारमा २ लाख ३८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
कुन देशमा कति ?
संसारमा अहिलेसम्म सर्वाधिक संक्रमित रहेको अमेरिकामा चौबीस घण्टामा २७ हजार भन्दा बढी संक्रमित थपिएर ६५ लाख १२ हजार भन्दा बढी संक्रमित पुगेका छन् ।
त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ९३ हजार ९ सय भन्दा बढी पुगेको छ । मंगलबार मात्र त्यहाँ ४ सय ४९ जना भन्दा बढीले ज्यान गुमाएका छन् ।
संसारमै सर्वाधिक संक्रमितको दोश्रो स्थानमा रहेको भारतमा कुल संक्रमितको संख्या ४३ लाख ६७ हजार भन्दा बढी पुगेको छ ।
त्यहाँ गत चौबीस घण्टामा ८९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । सोमबारसम्म भारतमा लगातार ६ दिन रेकर्ड संख्यामा संक्रमित भेटिएका थिए भने मंगलबार यो संख्यामा केही कमी आएपनि बुधबार पुनः थपिएको देखिन्छ ।
संक्रमित हुनेको तेश्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ६५ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँ चौबीस घण्टामा १७ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
संसारमा कोरोना निको हुनेको संख्या १ करोड ९८ लाख ६ हजार भन्दा बढी छ । अहिले संसारमा ७० लाख १२ हजार सक्रिय संक्रमित छन् ।