जनादेश, काठमाण्डौ ।
अध्यक्षद्वयको साझा प्रस्ताव पारित गर्दै सत्तारुढ नेकपा स्थायी समितिको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज कार्यकारी अध्यक्षको हैसियतमा पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गर्नुभएको बैठकले प्रचण्ड अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्तुत साझा प्रस्ताव पारित गरेको हो ।
बैठकले अध्यक्ष ओलीले सरकार र दाहालले पार्टीको नेतृत्व गर्दै पार्टी एकता र सरकार सञ्चालनलाई प्रभावकारी तुल्याउने निर्णय गरेको छ । त्यस्तै, नेकपा स्थायी समिति बैठकले भारतसँगको सीमा विवाद समाधानका लागि राजनीतिकस्तरबाटै पहलकदमी खोज्नुपर्ने निश्कर्ष निकाल्को छ ।
बैठकले नेपाली भूभागमा रहेका विदेशी सेना तत्काल फिर्ता पठाउने र त्यसका लागि सरकारले पहलकदमी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अमेरिकी सहयोग एमसिसिका सम्बन्धमा भने पार्टीको कार्यदलको सुझावअनुसार परिमार्जन र संशोधनसहित पारित गर्ने निर्णय नेकपाले गरेको छ सरकारको कामको समिक्षासमेत गरेको बैठकले कोरोना महामारीको सामानामा सबैको सहकार्य गर्ने जनाएको छ ।
त्यसैगरी एकताको महाधिवेशन २०७७ चैत्र २५ देखि ३० गते गर्ने अध्यक्षद्वयको साझा प्रस्ताव बैठकले अनुमोदन गरेको छ । त्यस्तै, स्थायी कमिटिले असोज मसान्तभित्रमा पार्टी एकताका सबै काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
२०७४ जेठ ३ गते पार्टी एकता गरेको नेकपाले एकताको ३ महिनाभित्र सबै एकता सम्पन्न गर्ने भनेपनि अझै केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो समिति, केन्द्रीय विभागसहित प्रदेश र स्थानीय कमिटीले पूर्णता पाउन सकेका छैनन् । पारित प्रस्तावमा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने र विचार, विधि र नीतिलाइ महत्वपूर्ण विषयको रुपमा ग्रहण गर्ने उल्लेख गरेको छ ।
नेकपामा अध्यक्षको कार्यक्षेत्रको बारेमा विवाद हुँदा गत असार १० गते स्थायी समितिका सदस्यले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्केको थियो ।
साउन १३ गते ओली पक्षले एकलौटी रुपमा बैठक स्थगित गरेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक सञ्चालन गरेपछि विवाद झनै बढेसँगै बैठक स्थगित भएको थियो ।