काठमाडौं ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा खेलेर इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) आइतबार पुग्ने भएका छन् ।
सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप शनिवार यूएईतर्फ लाग्ने बताएका छन् । रमनका अनुसार सन्दीप आइतबार यूएई पुग्ने छन् ।
सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको छ ।
सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ११ रन खर्चेर १२ विकेट लिदै उत्कृष्ट प्रर्दशनका साथ सिपिएल यस सिजनको अन्त्य गरे ।
सन्दीपको इकोनमी रेट ५.२७ रहँद उत्कृष्ट प्रर्दशन २–८ रह्यो । सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा जमैकाले अनुबन्ध गरेको थियो ।
सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्ने छन् । सिपिएलमा उच्च प्रर्दशन गरेका सन्दीपको मनोबल उच्च छ । आइपिएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने छ ।
दिल्ली पहिलो पटक उपाधि जित्ने सोचमा छ । कागजी रुपमा दिल्ली बलियो दाबेदार टोली हो । दिल्लीले आइपिएलमा सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जावसँग खेल्दै सुरुवात गर्ने छ ।