नेकपा स्थायी समितिको निचोड र केन्द्र भागमा प्रचण्डको प्लेसिङ – Janadesh Daily | ePaper

नेकपा स्थायी समितिको निचोड र केन्द्र भागमा प्रचण्डको प्लेसिङ


जनादेश विश्लेषण ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लम्मेतान स्थायी कमिटी बैठक शुक्रबार समापन गरिएको छ । लामो बैठकमा अनेक उतार चढाव आएपनि अन्त्यमा शीर्ष नेताहरु आफूहरु एक ढिक्का भएको उद्घोष गर्दै बैठक समापन गरेका छन् ।

असार १० गते सुरु भएर पटक-पटक स्थगित हुँदै ७९ दिनसम्म चलेको बैठकको बीचमा नेताहरुले एक अर्कालाई होच्याउने र तोच्छ्याउने मात्र होइन पार्टी फुटको सँघारमै पुग्यो । यद्यपि आरोह अवरोह हुँदै नेकपा अन्त्यमा सहमतिको विकल्प नभएको र पार्टीका दुई अध्यक्षबीच पारस्परिक सम्मान, विश्वास र हाराहारीको कार्य विभाजन अनिवार्य रहेको निष्कर्षमा पुगेको छ ।

यो विवाद टुङ्गिदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको केन्द्र भागमा मियो जस्ता बन्न पुगेका छन् भने केपी ओलीलाई सत्ता पाँच वर्ष निरन्तरताको सुनिश्चितता प्राप्त भएको छ ।

यो बैठकबीच नेताहरुका कुर्सी अनेकन पटक सारिए र फरक फरक दिशा र कोणमा राखेर परीक्षण गरियो । तर शुक्रबारको समापन बैठकमा अध्यक्ष प्रचण्डको कुर्सी केन्द्रमा थियो र दायाँ बायाँ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल रहेका थिए । त्यस्तै अर्का वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम पनि सोही लहरमा थिए । यसको अर्थ नेकपामा अव प्रचण्डको नेतृत्वमा पाँच जना नेताको कोर लिडर समूह स्थापित भएको छ ।

पार्टीमा विवाद रहेको बेला दुई अध्यक्ष भए पनि एकल अध्यक्षको झल्को दिने गरी ओलीको सिट व्यवस्थापन गर्दै प्रचण्डलाई होच्याउने प्रयास गरेकाहरु अन्ततः उनी केन्द्र भागमा रहेको स्वीकार्ने चरणमा पुगेका छन् ।

पार्टीको विवाद समाधान गर्न दुई अध्यक्षले बनाएको कार्यदलकै सुझाव अनुसार प्रचण्ड पार्टीको मियो बन्न पुगेका छन् । प्रचण्ड पार्टीको काममा केन्द्रित हुने सुझावकै आधारमा नेकपाको शुक्रबारको स्थायी समिति बैठकमा प्रचण्ड बैठकको केन्द्रमा विराजमान भएका हुन् । दुई अध्यक्षको प्रतिवेदन स्थायी कमिटीबाट स्वीकृत भएसँगै अब उनले पार्टीको सम्पूर्ण कार्यकारी निर्णय लिनेछन् ।

प्रचण्ड युद्धकालदेखि नै पार्टीभित्र आफू विरुद्ध रहेका नेताहरुलाई समेत कन्भिन्स गर्न सक्ने र मिलाएर जाने खुवी भएका नेताकोरुपमा चिनिँदै आएका छन् । प्रतिकुल जस्तो देखिने परिस्थितिलाई आफू अनुकुल बनाउन सक्ने उनको खुबी अनौठो रहेको विश्लेषकहरु बताउँछन् ।

नेकपाको एकतापछि पनि प्रचण्डले अनेकन प्रतिकुलतालाई अनुकुलतामा मात्र बदलका छैनन् पूर्व एमाले पंक्तिका ठूलो संख्याका नेता कार्यकर्तालाई आफू नेता भएको विश्वास दिलाउन सफल भैसकेका छन् ।

यो पटक पनि कसैगरी नगल्ने बरु पार्टी फुटाउने अड्डी कसेका ओलीलाई प्रचण्डले तर्क र त्रास दुवैको बलमा मनाउन सफल भएका छन् ।

अब मिलेर जाने
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकै स्वरमा आफूहरूले पार्टीलाई अप्ठ्यारोबाट जोगाएको बताए ।


करिब सात मिनेट भाषणमा ओलीले आफू र प्रचण्ड मिलेर अघि बढ्ने जानकारी गराएका थिए ।

माधव नेपालको रिजर्भेसन कायमै
वरिष्ठ नेता माधवकुमार नेपालले धेरै बोल्ने, ठूला ठूला कुराहरु गर्ने र धेरै प्रतिवद्धता घोषणा गर्नेहरुबाट जोगिनुपर्ने बताएका छन् । शुक्रबारको बैठकमा बोल्दै नेता नेपालले सरकार पार्टीले सञ्चालन गर्नुपर्ने र राजनीतिक नियुक्तिहरु पार्टीको निर्णयमा आधारित हुनुपर्ने बताए । साथै उनले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ को पुरानो अडान दोहोर्‍याएका छन् ।

यो पनि हेर्नुस्- नेकपा स्थायी समिति बैठक समापनः भारतसँग सीमा विवादमा राजनीतिक तहमा वार्ता, एमसिसीमा संशोधन

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्