जनादेश, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सोमबार सकिँदै छ तर सरकारले अन्तिम दिनसम्म पनि उनको पुनर्नियुक्ति वा नयाँ नियुक्तिबारे कुनै निर्णय गरेको छैन ।
२०७३ भदौ २९ मा प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक बनेका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबारदेखि विदा हुनेछन् ।
प्राधिकरणमा उनलाई निरन्तरता दिइन्छ कि अरु कसैलाई बनाइन्छ भन्ने विषयमा व्यापक जनचासो छ ।
देशलाई लोडसेडिङ मुक्त बनाएका कुलमानबारे चर्चा चलेपछि बसेको तीन पटकको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेपछि संशय बढेको छ ।
२०७२ भदौमा घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त हुँदा मुलुकमा दैनिक १८ घण्टासम्मको लोडसेडिङमा थियो । पदबहाली गरेको केही समयमै उनले काठमाडौंलाई लोडसेडिङ मुक्त गरेका थिए ।
आम उपभोक्ताको दृष्टिमा कुलमान घिसिङ नै सबैभन्दा उपयु्क्त पात्र हुन् । उनी दोहोरिने सम्भावना रहेको बताइएपनि यसै भन्न सकिने अवस्था छैन । यद्यपि यस पटक उनलाई दुई वर्षका लागि मात्र जिम्मेवारी दिने तयारी भएको चर्चासमेत चलेको छ ।
घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफामा लगेका कुलमानले विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायत काम गरेको भनेर प्रशंसा पाएका छन् । यद्यपि पूर्वमाओवादी खेमासँग नजिक रहेका कारण पूर्व एमाले समूहले कुलमानलाई मन नपराउने गरेको चर्चा पनि सुनिने गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कुलमानलाई २ वर्ष मात्र निरन्तरता दिने तयारी गरेको थाहा पाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएको पनि सार्वजनिक भैसकेको छ ।
कुलमानको वाही वाहीले उनीमाथि एक्लो जस लिएको आरोप समेत लाग्ने गरेको छ । यद्यपि उनलाई निरन्तरता दिनुहुन्न भन्ने पक्षमा खुलेर बोल्ने आँट नेकपाका कुनै पनि नेताले गरेका छैनन् ।
घिसिङको समयावधि सकिन एक साताभन्दा कम समय बाँकि रहँदा अहिलेसम्म कसैले पनि उम्मेदारी दाबी गरेको छैन । पछिल्लो समय प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले कुलमानको विरुद्घमा अभिव्यक्ति दिँदै हिँडेका कारण कुलमानविरुद्ध मोर्चावन्दी भैरहेको पनि बुझ्न कठीन छैन ।
यो पनि हेर्नुस्
सिन्धुपाल्चोकमा अर्को पहिरोः १८ घर पुरिए, थुप्रैको अवस्था अज्ञात
कुलमानलार्ई सामाजिक सञ्जालले दिएको नियुक्तिबारे सरकार बेखबर : प्रवक्ता खतिवडा