एजेन्सी ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले १५ जुनमा गलवानमा भएको भिडन्तमा भारतीय सेनाले चिनियाँ सेनामा पनि हताहती गराएको भन्दै गरेको दाबीलाई चीनले खण्डन गरेको छ ।
भारतीय अति राष्ट्रवादी तत्वहरुलाई खुसी पार्न भारतीय रक्षामन्त्रीले झुट बोलेको ग्लोबल टाइम्सको आरोप छ । ग्लोबल टाइम्स चीनको विदेश मामिलामा मुख्य सन्देश वाहक पत्रिका मानिन्छ ।
१५ जुनको राति भएको गलवान भिडन्तमा २० भन्दा बढी भारतीय सैनिक मारिएका थिए । तर चीनतर्फ कुनै क्षति भएको विवरण सार्वजनिक भएको छैन । चीनले उक्त भिडन्तमा आफूतर्फ कुनै क्षति नभएको बताइसकेको छ ।
यो पनि हेर्नुस् लद्दाखमा यसरी भएको थियो चिनियाँ र भारतीय सैनिकको झडप (भिडियोसहित)
भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदको माथिल्लो सदन राज्यसभामा विहीबार बोल्दै चीनले परम्परागत सीमा रेखालाई स्वीकार नगरेकोले मुद्दा अझै समाधान नभएको बताएका थिए ।
रक्षामन्त्री सिंहले चिनियाँ सैनिकलाई भारतीय सुरक्षाकर्मीले उचित जवाफ दिने गरेको दावी पनि गरेका थिए । गत जुन १५ तारिखमा गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकसँगै चिनियाँ पक्षले ठूलो क्षति ब्योहोरेको दाबी पनि उनको थियो ।
गत साता रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच ५ बुँदे सहमति भएपछि चीन र भारतबीच लद्दाख सीमा तनाब रोकिएको छ । गत एप्रिल यता बढेको सीमा विवाद अगष्ट महिनामा उत्कर्षमा पुगेको थियो । पछिल्लो जुहारीले तनाव पुरानै अवस्थामा फर्किने संकेत गरेको छ ।