एजेन्सी ।
बार्सिलोनासँग तनावपूर्ण सम्बन्धमा रहँदै आएका चर्चित फुटबलर लुइस स्वारेजले क्लब छाड्ने अनुमति पाएका छन् । बार्साले क्लब छाड्ने स्वीकृति दिएसँगै उनी स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने पक्का भएको छ ।
पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् ।
बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो । ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् ।
एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् ।
उनको बढ्दो उमेर र खस्कँदो प्रदर्शनको कारण देखाउँदै क्लबले बेच्ने खेलाडीको सूचीमा राखेको थियो ।