एजेन्सी ।
कप्तान केएल राहुल चम्किँदा इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको विहीबारको खेलमा किंग्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि शानदार जीत हात पारेको छ ।
जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत आफ्नो दोस्रो खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
युएईको दुबई इन्टरनेसनल मैदानमा सम्पन्न खेलमा पञ्जाबले दिएको २ सय ७ रनको लक्ष पछ्याएको बैंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो । रवि विस्नोइ र मोरुगन आश्विनले तीन तीन विकेट लिएपछि बैंग्लोर सस्तोमा समेटियो ।
के एल राहुलको कीर्तिमान
पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित १ सय ३२ रन बनाए । शतकिय पारि खेलेका ओपनर राहुलले ६९ बलमा १४ चौका र ७ छक्का हाने । पञ्जाबका कप्तान तथा विकेट किपर ब्याट्सम्यान राहुल इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको एकै इनिङमा सार्वाधिक रन बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । १३ औं संस्करणको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध १ सय ३२ रन जोडेका राहुलले ऋसभ पन्तको किर्तिमान तोडेका हुन् ।
एकै इनिङमा सर्वाधिक रन बनाउने पहिलो भारतीय खेलाडीको सुचिमा राहुल अट्दा दिल्ली क्यापिटल्सका रिसभ पन्त दोस्रो स्थानमा झरेका छन् । उनले दिल्लीका लागि एकै इनिङ्समा १ सय २८ रन बनाएका छन् । यस्तै तेस्रो स्थानका मुरली विजयले १ सय २७ रन बनाएका छन् भने चौथो स्थानमा रहेका विरेन्द्र सेहवागले १ सय २२ रन बनाएका छन् । पाचौं स्थानका ऋदीमन साहले १ सय १५ रन बनाएका छन् ।