दाङ ।
राष्ट्रिय मानव अधिकार आयोगले १५ जिल्लाका कारागारमा अनुगमन गरेको छ । कारागारहरूमा संक्रमण बढ्दै गएपछि आयोगले देशभरिका कारागारको अनुगमन थालेको हो । आयोगले अधिकांश कारागारमा सरकारले तोकेकै मापदण्ड लागू नगरिँदा जोखिम उच्च रहेको औँल्याएको छ ।
आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले १२ वटा कारागारको अनुगमन गरिसकेको छ । धेरै कारागारमा आइसोलेसन समेत नबनाईएकाले बन्दीहरू उच्च जोखिममा रहेको उहाँको भनाई छ । हालसम्म अनुगमन गरिएका १५ कारागारमध्ये पाँचवटा कारागारमा मात्र आइसोलेसनको व्यवस्था गरिएको पाठकले बताउनुभयो ।
आयोगले २० दिनमा २७ जिल्लाका कारागारको अनुगमन गर्ने निर्णयअनुसार अनुगमन जारी राखेको छ । केही दिनअघि आयोगले कैदीबन्दीको स्वास्थ्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको थियो ।।