एजेन्सी ।
म्यानचेस्टर युनाइटेड र म्यान चेष्टर सिटी दुवै टिम इएफएल कप अर्थात काराबाओ लिग कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार राति भएको चौथो चरणको खेलमा ब्राइटनमाथि ३–० को जित निकाल्दै म्यान युले अन्तिम ८ मा स्थान पक्का गरेको हो भने यस्तै म्यानचेस्टर सिटी पनि बर्नलीमाथि ३–० को जित निकाल्दै अन्तिम ८ मा पुगेको छ ।
म्यान युनाइटेडको जितमा स्कट म्याकटोमिने, ख्वान माता र पउल पोग्बाले गोल गरे ।
स्कटले ४४ औँ मिनेटमा गोल गरी अवे मैदानमा युनाइटेडलाई अग्रता दिलाए । माताले ७३ औँ मिनेटमा अग्रता दोब्बर पारे भने पोग्बाले ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो ।
त्यस्तै सिटीका लागि अवे मैदानमा भएको खेलमा रहीम स्ट्रर्लिङ्गले ३५ र ४९ औँ मिनेटमा गरी दुई तथा फेरान टोरेसले ६५ औँ मिनेटमा गोल गरेका हुन् ।
यसैगरी वेष्ट ह्यामलाई ४–१ ले पराजित गरेर एभर्टन तथा न्यूपोर्टलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर न्यूक्यासल पनि क्वाटरफाइनलमा पुगेका छन् ।