एजेन्सी ।
भारतमा पछिल्लो एक महिनादेखि कोरोना संक्रमणका कारण बिरामी पर्ने र मृत्यु हुनेको दर संसारमै बढी छ । गत एक महिनादेखि भारतले दुवै फिगरमा अग्रता कायम गरिरहेको छ ।
सर्वाधिक संक्रमणदर रहेको भारतमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।
त्यहाँ चौबीस घण्टामा १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ९९ हजार ८ सय नाघेको छ ।
भारतमा गत चौबीस घण्टामा ८१ हजार भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६३ लाख ९१ हजार पुगेको छ ।
अधिकारीहरुका अनुसार ९ लाख ४३ हजार ५ सय भन्दा बढी सक्रिय कोरोनाको अवस्था छ भने ५३ लाख ४८ हजार भन्दा बढी निको भएका छन् ।
भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।
कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । जनसंख्याको अनुपातमा जाँच संख्या कमी रहेको विज्ञहरुको भनाई छ ।
भारतको जाँच अनुपात संसारमा सबैभन्दा कम मध्येमा पर्छ । यसको अर्थ भारतको अवस्था अहिलेको भन्दा भयावह हुनसक्छ र भारतले संक्रमित र मृत्यु हुने दुवै संख्यामा अमेरिकालाई पनि पछि पार्न सक्ने अनुमान छ ।
यो पनि हेर्नुस्- कोरोना महामारीः विश्वमा २४ घण्टामा थपिए ३ लाखभन्दा बढी कोरोना संक्रमित, कुल संख्या ३ करोड ४४ लाख