एजेन्सी ।
दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग आईपीएलको जारी लिगमा फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा
नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रनमा सीमित भयो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे ।
नाभदिप सैनी अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । पृथ्वी शले ४२ रन जोड्दा ऋषव पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो ।
बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ । पाँच खेल हुँदा पनि सन्दीपलाई भने दिल्लीले खेलाएको छैन ।
सन्दीपलाई सधैं बेन्चमा सीमित गरेपछि नेपाली प्रशंसक भने निराश भएका छन् ।