एजेन्सी ।
नीता अम्बानीको मुम्बई इन्डियन्स युएईमा जारी तेह्रौं संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको हो ।
जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।
राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् ।
पहिलो ओभरको दोस्रो बलमै ओपनर यशस्वी जैसवाललाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिएन फर्काए । जस्प्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा कप्तान स्टिभ स्मिथलाई ६ रनमा आउट गरे ।
बोल्टको तेस्रो ओभरको पाँचौ बलमा सन्जु स्यामसन रोहत शर्माबाट शून्यमा क्याच आउट भए ।
पाँचौ विकेटका लागि दुई इंग्लिस ब्याट्सम्यान बटलर र टम करनले ५६ रनको साझेदारी गर्दै झिनो आशा जगाए पनि जित सम्भव भएन ।१५औं ओभरको चौथो बलमा करनलाई आउट गराए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।
मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।
मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो ।
जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्सको पनि पाँच खेलबाट ८ अंक छ। सुरुका दुई खेल जितेको राजस्थानले लगातार तेस्रो हार ब्यहोरेको हो।