एजेन्सी ।
विश्व बरियतामा पहिलो नम्बरमा रहेको बेल्जियमलाई इंग्ल्याण्डले पराजित गरेको छ । नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा समूह ए टूमा रहेको इंग्ल्याण्डले बेल्जियमलाई २–१ पराजित गरेको हो ।
सुरुमा पछि परे पनि उसले पुनरागमन गरी जित निकालेको हो । १६ औँ मिनेटमा पाएको पेनाल्टीमा रामेलु लुकाकुले गोल गरी बेल्जियमलाई सुरुवाति अग्रता दिलाए ।
३९ औँ मिनेटमा इंग्ल्याण्डले पनि पेनाल्टी पायो, त्यसलाई सदुपयोग गरी मार्कस रासफोर्डले टिमलाई बराबरीमा लगे।
६४ औँ मिनेटमा म्यासन माउन्टले गोल गरेपछि ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले २–१ को जित निश्चित गरेको हो।
जितपछि तीन खेलबाट सात अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा पुगेको छ । ६ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ ।