एजेन्सी ।
जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले दावेदारी बढाएको छ ।
सोमबार राति भएको खेलमा कोलकातालाई ८२ रनले पराजित गर्दै बैंग्लोरले पाँचौ जित निकाल्यो ।
१९५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाएपछि बैंग्लोरले फराकिलो जित निकालेको हो।
कोलकाताका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए। शुबमन गिलले ३४ रन बनाउँदा आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६–१६ रन बनाए। बलिङतर्फ बैंग्लोरका क्रिस मोरिस र वासिङटन सुन्दरले समान २–२ विकेट लिए।
यसअघि शारजाह रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको बैंग्लोरले २० ओभरमा दुई विकेटको क्षतिमा १९४ रन बनाएको थियो। बैंग्लोरका लागि एबी डि भिलियर्सले विष्फोटक ब्याटिङ गरे। उनले ३३ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७३ रन बनाए। त्यस्तै, बैंग्लोरका लागि आरोन फिन्चले ४७, कप्तान विराट कोहलीले अविजित ३३ र देवदुत्त पाडिकलले ३२ रनको योगदान दिए। बलिङतर्फ आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान १–१ विकेट लिए।
कोलकातालाई पराजित गरेको बैंग्लोरले सात खेलबाट पाँचमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ। बैंग्लोर लिगको तेस्रो स्थामा छ। सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको कोलकाता आठ अंकसहित चौथो स्थानमा छ।