एजेन्सी ।
नेशन्स लिग फुटबल अन्तर्गत बुधबार भएको खेलमा इंग्ल्याण्ड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १० तथा खेलको अन्तिम केही मिनेट ९ खेलाडीमा सीमित भएको इङ्ल्याण्डमाथि डेनमार्कले महत्वपूर्ण जित दर्ता गरेको हो ।
३१ औँ मिनेटमा ह्यारी मागुइरी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । ३५ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियन एरिक्सनले गोल गरे । उनले राष्ट्रिय टिमबाट १०० औँ खेलमा ३४ औँ गोल गरेका हुन् ।
इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा रीस जेम्स सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए। रेफ्रीसँगको विवादका कारण उनले रातोकार्ड पाएका हुन् । नेशन्स लिगमा पहिलो पटक इंग्ल्याण्डका दुई खेलाडीले एकै खेलमा रातो कार्ड पाएका हुन् ।
जितपछि समूह ए टू मा रहेको डेनमार्कको चार खेलबाट सात अंक भएको छ र उ दोस्रो स्थानमा छ । सात अंक नै भएको इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।
उता लिगमा बुधबार राति भएको अर्को खेलमा इटाली बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा इटालीले नेदरल्याण्डससँग १–१ को बराबरी खेलेको हो ।
समूह ए वानमा रहेको इटालीका लागि १६ औँ मिनेटमा लोरेन्जो पिलेग्रिनीले गोल गरे । २५ औँ मिनेटमा डोनी भान डी बीकले नेदरल्याण्डसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।
बराबरीपछि चार खेलबाट ६ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा छ । पाँच अंकसहित नेदरल्याण्डस तेस्रो स्थानमा रहेको छ ।
सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा पोल्याण्डले बोजनिया–हर्जगोबिनालाई ३–० ले पराजित गरेको छ । विजयी भएको पोल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ ।
नेशन्स लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा फिनल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई १–०, बेलारुसले काजखस्तानलाई २–० तथा स्लोभेनियाले माल्डोभालाई ४–० ले पराजित गरेका छन् ।
लिथुवानिया र अल्बानिया तथा ग्रीस र कोसोभोले गोलरहित एवम् इस्टोनिया र अर्मेनिया तथा उत्तरी मेसेडोनिया र जर्जियाले १–१ को बराबरी खेलेका छन् ।