जनादेश विश्लेषण ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अर्को उत्कर्षमा पुग्ने संकेत देखिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता ठप्प हुँदा केन्द्रीय कमिटी बैठक एक महिना पछि धकेलिएको छ ।
निरन्तर संवादमा रहने ओली र प्रचण्ड झण्डै २ सातादेखि संवादहीनतामा छन् । प्रचण्ड विच्किएपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेललाई सक्रिय तुल्याएका छन् ।
प्रचण्डलाई भेट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिहीबार बिहान प्रचण्ड निवास पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग वार्ता गरेर समाधान निकाल्न कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेपनि प्रचण्डले ओलीसँग सहमति गरेपनि कहिल्यै कार्यान्वयन नहुने र एक्लाएक्लै भेटवार्ताको अर्थ नभएको जवाफ दिएका थिए ।
पार्टीको आन्तरिक गतिविधिदेखि रअ प्रकरण तथा पर्सा घटनालगायतका विषय टुग्याउन सामूहिक निर्णय लिनुपर्ने प्रचण्डको अडान छ ।
ओलीले गत भदौ २५ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरु उल्लंघन गरेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र राष्ट्रियतामाथि आघात पुग्ने गरेर विदेशी जासुसी संस्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनलाई साथ दिन नसकिने इतर पक्षको भनाई छ ।
ओलीले कर्णालीमा विवाद चर्काउन खोजेको, छलफल नै नगरी मन्त्रिपरिषद विस्तार गरेको, पार्टीका आन्तरिक गतिविधिमा परामर्श नगर्ने प्रवृत्ति बढेपछि प्रचण्ड असन्तुष्ट छन् । कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्तिलगायतका कुराले बिवाद बढेको थियो ।
त्यस्तै पर्सामा नेकपाका एक स्थानीय नेताको हत्या प्रकरणले पनि पार्टीमा तिक्तता बढेको छ । बालुवाटारको दबाबमा प्रहरीले घटनामा संलग्नविरुद्धको जाहेरी लिन मानेको छैन ।
ओली पक्षलाई अविश्वासको प्रस्ताव आउने आशंका
ओलीविरुद्ध पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता गर्ने तयारी गरिरहेको भन्दै गोप्यरुपमा हस्ताक्षर गर्ने काम भइरहेको ओली निकट एक नेताले जनादेशलाई बताए ।
अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा असफल भएपनि कांग्रेससँग मिलेर भएपनि संसदसम्म आइपुग्ने ती नेताको दाबी छ ।