जनादेश वाच ।
झण्डै २ साता संवादविहीन बनेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच ११ दिनपछि संवादहीनता तोडिएको छ ।
गत कात्तिक ४ गते रातिको संक्षिप्त टेलिफोन सम्वादपछि संवाद नगरेका दुई अध्यक्षबीच शनिबार बालुवाटारमा छलफल भएको हो ।
दुई अध्यक्षबीच छलफल हुन नसकेपछि ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका ओलीको किचन क्याविनेटका नेताहरु तारन्तार खुमलटार पुगेका थिए ।
ओली निकट नेताहरुले संवादमा लागि आग्रह गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका हुन् ।
कर्णाली प्रदेशको विवाद, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल र पर्साको बिन्दबासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको निधनको विषयमा ओलीको व्यवहारबाट चिढिएका प्रचण्डले ओलीसँग एकल सहमति नगर्ने अडान राखेका छन् ।
हरेक विषयलाई सचिवालयमा छलफल गराउने प्रचण्डको अडानपछि ओली सहमत भएको बताइएको छ तर, सचिवालय बैठक कहिले गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।
प्रचण्ड निकट एक नेताले जनादेशलाई दिएको जानकारी अनुसार प्रचण्डले सुरुमै ओलीलाई, ‘तपाईँ र मबीच सुरु भएको मतभिन्नता र असमझदारी अब एक्लाएक्लै बसेर समाधान हुन्न। तपाईँबाट पार्टी निर्णय उल्लंघन भएको छ। अब त्यसलाई लिएर पार्टी बैठकमा छलफल गरौँ। सबैभन्दा पहिले केन्द्रीय सचिवालय बैठक बोलाऔँ’, भनेका थिए ।
ओलीले प्रचण्डको मागलाई पन्छाउन खोजेपछि प्रचण्डले अहिलेसम्म ओलीले गरेका मनोमानी र सहमति उल्लङ्घनको फेहरिस्त प्रस्तुत गरेका थिए ।
कर्णाली विवादमा अनावश्यक हस्तक्षप गरेर एउटा प्रदेशको झगडा देशव्यापी बनाएको आरोप ओलीलाई प्रचण्डले लगाएका थिए।
त्यसपछि प्रचण्डले ओलीलाई सोधेका थिए, ‘मुलुक यस्तो संकटमा फसिरहेका बेला पार्टीमा एक पटक पनि सल्लाह नगरी के कति कारणले भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँग भेट गर्नुभयो? यथार्थ के हो?’
प्रचण्डले ओलीको जबाफमा चित्त नबुझाएपछि पार्टीमै छलफल गर्नुपर्छ भनेका थिए। दुई नेताबीच करिव एक-घण्टा भनाभन जस्तै भएपछि प्रचण्डले सचिवालय बैठक बस्नुको बिकल्प नभएको अडान लिएका थिए ।
राजदूत नियुक्तिदेखि गोयल प्रकरणसम्म आइपुग्दा ओलीले सहमति उल्लंघन गरेको प्रचण्डलगायत नेताहरुको निष्कर्ष छ । त्यसैले अब उनीहरु स्थायी कमिटीको निर्णय उल्लंघनसँग पार्टीमा समस्या सुरु भएकाले अब सचिवालयसँगै स्थायीकमिटी बैठक मात्रै होइन तुरुन्त हालै मंसिर १५ लाई सारिएको केन्द्रीय कमिटी बैठक समेत हुनुपर्ने माग गरेका छन्।
तर यी बैठकमा ओलीको आलोचना बढ्ने र उनी अल्पमतमा पर्ने भएकाले ओली अफ्ठेरोमा परेका छन् । प्रचण्डले अडान नछोडेपछि ओली महासचिव विष्णु पौडेलसँग सल्लाह गरी सचिवालयको बैठक बोलाउने भन्दै उठेको श्रोतले बताएको छ ।