एजेन्सी ।
डेमाक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएको छ । उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्।
पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन् ।
वहालवाला राष्ट्रपति एवं रिपब्लिकन उम्मेद्ववार डोनाल्ड ट्रम्पले कानूनी चुनौति दिने सम्भावना बाँकी रहेका कारण अन्तिम मत परिणाम घोषणा हुन विलम्ब हुन सक्ने देखिएको छ ।
ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।
विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भनेका छन्, “मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।”
“अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।”
यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।
ट्रम्पले वक्तव्य निकाल्दै भनेका छन्, “किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छ: उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन् ।”
उनले भनेका छन्, “सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन।”
इतिहासकै सर्वाधिक मत
सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।
ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।
मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।
बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।
कमलाले रचिन् इतिहास
बाइडेन राष्ट्रपति बन्दा अमेरिकाले पहिलो अश्वेत उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसलाई पनि पाएको छ। उनी केरलियन आमाकी छोरी हुन्।
बाइडेनले शुक्रबार राति डेलावरमा राष्ट्रलाई सम्बोधन गर्नेछन् ।