इतिहास रचेकी कमला र उनको भारत साइनो – Janadesh Daily | ePaper

इतिहास रचेकी कमला र उनको भारत साइनो


एजेन्सी ।
अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति चयन हुने निश्चित भएको छ । डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उनकी उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन्।

कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन्।

इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो। क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन्।

पहिलो अश्वेत महिला उपराष्ट्रपति
अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। कमला ह्यारिसको बहुजातीय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको हुनेछ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उप-राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन्। सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो ।

हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन्। बाइडेनले ट्वीट गरेर कमला ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदावर चयन गरेको बताउँदा आफूलाई गर्व लागेको ट्विटरमा लेखेका थिए।

उनले कमलालाई “बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक” भनेका थिए।

बाइडेनले उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग कसरी काम गरेकी थिइन् भनेर स्मरण पनि गरेका थिए।

५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्।

कमलाको भारत साइनो

कमला ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।

सन् १९६० दशक उदय हुँदै गर्दा बर्क्लेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा ह्यारिसका आमाबुवा विद्यावारिधि गरिरहेका थिए।

त्यतिबेलै उनीहरू एकअर्कासँग नजिकिए। जमाइकाबाट आएका पिता डोनाल्ड ह्यारिस अर्थशास्त्रका विद्यार्थी थिए। आमा गोपालन पोषण र ग्रन्थी र हर्मोनसँग सम्बन्धित ‘इन्डोक्रिनोलोजी’ विषयकी छात्रा।

बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाले सम्बन्ध विच्छेद गरे। कमलाले आफ्नो जीवनीमा यसरी आमाबावु छुट्टिएपछिको पीडाबारे थोरै मात्र उल्लेख गरेकी छन्।

 कमलानिकट व्यक्तिहरूका अनुसार उनको बाल्यकाल सुखी नै थियो जसमा आमाले भान्छामा पकाएका परिकारको सुगन्ध र निरन्तर संवाद अनि हाँसो भरिएको थियो।

कमलाकी आमा बितेको एक दशक नाघिसकेको छ। राजनीतिक जीवनलाई अघि बढाउन कमलाले उनकी आमाको पुस्ताकै एक लोग्ने मानिसलाई पराजित गर्नुपर्थ्यो। बामपन्थी धारतिर ढल्केका परिवारका सदस्य ती व्यक्ति उदारवादी सोचका वकिल थिए। नागरिक अधिकारको लडाइँमा पनि होमिएका ती वकिलले अदालतमा कतिपय अधिकारकर्मीको पक्षमा लडिदिएका थिए जसका माझ उनको नायक छवि नै बनेको थियो। त्यस्ता व्यक्तिलाई हराउन कमलाले असाध्यै मुश्किल सामना गर्नु परेको थियो।

जमाइका ग्लोब नामको वेबसाइटमा एउटा लेख लेख्दै कमलाका बुवाले छोरीहरूप्रतिको आफ्नो प्रेममा कहिल्यै कमी नआएको उल्लेख गरेका छन्। त्यसैगरी कमलाले पनि बुवालाई ‘सुपर हिरो’ भनेर लेखेकी छन्।

यो पनि हेर्नुस्- ट्रम्पलाई पाखा लगाउँदै अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनको नालिबेली

बाइडेन बने अमेरिकाको ४६ औँ राष्ट्रपति, कमलाले रचिन् इतिहास 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्