एजेन्सी ।
रुसका अधिकारहरुले आफ्नो देशमा बनेको कोरोनाविरूद्धको खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेका छन् ।
रुसको सभेरियन वेल्थ फण्डले ‘स्पुतनिक भी’ खोपबारे जानकारी सार्वजनिक गर्दै यस्तो दावी गरेका हुन् ।
हालसम्मको परीक्षणको नतिजाका आधारमा उक्त खोपको प्रभावकारिता सार्वजनिक गरिएको उल्लेख अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् । रुसी प्रत्यक्ष लगानी कोष आरडी आइएफको सहयोगमा विकास भइरहेको खोप १६ हजार बढीमा परीक्षण गरिएको थियो।
रूसले गत अगस्टमा स्पुतनिक भी भ्याक्सिनलाई स्वीकृति दिएको थियो।
विश्वमा १२ लाखभन्दा बढीको मृत्यु हुनेगरी विश्व अर्थतन्त्रलाई नै नराम्ररी असर पारेको कोभिड-१९ संक्रमणविरुद्धको खोप उत्पादनका लागि १२ भन्दा बढी राष्ट्र लागी परेका छन्।
दुई दिन अघि मात्र अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बाइएनटेकले भाइरस विरूद्धको पहिलो खोप सफल भएको घोषणा गरेका थिए । यो खोप लगाएका मध्ये ९० प्रतिशत भन्दा बढी मानिसलाई सुरक्षा प्रदान गरेको खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले जनाएका छन् ।
ती कम्पनीले “विज्ञान र मानवताका लागि एक महान दिन” भन्दै घोषणा गरेको खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परीक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि समस्या देखिएनन् ।
ती कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालीन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन्।
खोपको परीक्षण अन्तिम चरणमा पुगेपनि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् । यद्यपि यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन्।